साउन १ देखि कुहिने र नकुहिने फोहोर नछुट्याए ५ सय जरिवाना
९ असार ०७९, काठमाडौं । काठमाडौं महानगरवासीले साउन १ गतेदेखि फोहोरको वर्गीकरण (कुहिने र नकुहिने छुट्याउनुपर्ने) गर्नुपर्ने भएको छ।
काठमाण्डौ महागरपालिकाको वातावरण तथा कृषि विभागले आज एक सूचना जारी गर्दै नगरवासीलाई साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर घर (स्रोत)मै छुट्याउन आग्रह गरेको हो ।
फोहोरको वर्गीकरण नगरी एकैठाउँमा मिसाउनेलाई ५०० रुपैयाँ जरिवाना हुने पनि महानगरले जनाएको छ । कुहिने र नकुहिने फोहोर छुट्याउने जिम्मेवारी उत्पादनकर्ताकै भएकोले त्यस्ता फोहोरका लागि बेग्ला–बेग्लै दिन फोहोर संकलन गर्न गाडी पठाइने महानगरले स्पष्ट पारेको छ । स्रोतमै कुहिने र नकुहिने फोहोर नछुट्याए त्यस्ता फोहोर नउठाइने महानगरले जनाएको छ ।
कुहिने र नकुहिने फोहोर एकैठाउँमा राखेमा प्रत्येक पटक ५०० रुपैयाँका दरले जरिवाना हुने सूचनामा उल्लेख छ ।