Logo

मातृभाषाका चलचित्रमा सेन्सर लगायतका प्रकृया अझै झन्झटिलो


२२ असार ०७९, ललितपुर । मातृभाषाका चलचित्रमा सेन्सर लगायतका प्रकृया अझै झन्झटिलो रहेको सरोकारवालाहरुले बताएका छन् ।
यस सम्वन्धमा या त छुट्टै आदिवासी जनजाति चलचित्र सेन्सर बोर्ड गठन गर्न अथवा हालको सेन्सर बोर्डमा मातृभाषी चलचित्रको लागि छुट्टै ढाँचा बनाउन आफुहरुले माग गर्दै आएको आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत जानकारी दिए । नेवाः फिल्म सोसाईटीले असार १९ देखि २१ गतेसम्म कुमारीपाटी ललितपुरस्थित स्कूल अफ फिल्म मेकिङमा तीन दिने एडभान्स्ड भिडियोग्राफी कार्यशालामा बोल्दै मातृभाषी चलचित्रको निर्माण इजाजत प्राप्त गर्न चलचित्र विकास बोर्डबाट केही सहुलियत सुविधा अझै समस्या रहेको उनको भनाई थियो ।
अहिलेको समयमा जनजाति चलचित्रको निर्माणको संख्या बढे पनि लगानी उठाउन ठुलो समस्या रहेको उनको भनाई थियो ।
कार्यक्रममा बोल्दै सुनुवारले महासंघकै पहलमा राज्यले बनाएको चलचित्र ऐनमा आदिवासि जनजातिको प्रतिनिधित्त्व सुनिश्चित बनाउन सकेको बताए । ‘विगतमा राज्यले मातृभाषी चलचित्रलाई देख्दैनथियो, तर अहिले महासंघकै पहल र सक्रियतामा राज्यका चलचित्र सम्वन्धि विभिन्न योजना वा ऐन निर्माण गर्दा जनजाति चलचित्रकर्मीलाई पनि आवद्ध गराउन थालिएको छ’ सुनुवारले भने ।
उक्त समारोहमा बोल्दै सोसाईटीका अध्यक्ष बिराज काजी राजोपाध्यायले युवाहरु लक्षित येस्ता कार्यक्रमले युवाहरुलाइ आदिबासी चलचित्रतर्फ आकर्षित गर्दै आफ्नो कला र आदिबासी सृजनामा टेवा पुग्ने बिश्वास व्यक्त गरे ।
अध्यक्ष राजोपाध्यायले सोसाइटीले आउँदो श्रावण ६ गते कलाकार भेला कार्यक्रमको आयोजना गर्न लागेको र उक्त भेलाबाट ३ वटा महत्त्वपूर्ण विषयहरुको घोषणा गर्ने जानकारी पनि दिए । सोसाईटीका निवर्तमान अध्यक्ष लुःजः सिंहले कार्यशालामा सिकेको सीपलाई व्यवहारमा उतार्दै मातृभाषी चलचित्रलाई पनि सक्दो योगदान दिन आग्रह गरे ।
आदिवासी जनजाति मातृभाषामा निर्माण हुने चलचित्रलाई राज्यले छुट्टै दृष्टिकोणले हेर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । नेवाः फिल्म सोसाईटीले ललितपुरमा आयोजना गरेको कार्यक्रमका वक्ताहरुले मातृभाषी चलचित्रलाई पनि मूलधारको नेपाली चलचित्रकै नीति लाद्न नहुनेमा जोड दिए ।
३ दिने प्रशिक्षणमा १० जना युवालाई प्रशिक्षक बिशाल राजभण्डारीले भिडियोग्राफीका विविध बिषयमा प्रशिक्षण दिएका थिए । समापन समारोहमा महासंघका अध्यक्ष सुनुवारले कार्यशालाका सहभागी साथै प्रशिक्षकलाई प्रमाण पत्र प्रदान गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्