Logo

चलचित्र ‘गुलाबी’मा नाजिर हुसेन अनुबन्धित


३० असार ०७९, काठमाडौं  । निर्देशक समुन्द्र भट्टको नयाँ चलचित्र ‘गुलाबी’मा अभिनेता नाजिर हुसेन अनुबन्धित भएका छन् । दि स्काइ ओसन इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको यो चलचित्रको स्क्रिप्टको काम सकिएको र निर्माणको आन्तरिक तयारीमा जुटिरहेको भट्टले बताइन् ।
प्रि–प्रोडक्सनमा रहेको यो चलचित्रमा हालै अभिनेता नाजिरलाई अनुबन्ध गरिएको छ । नाजिर चलचित्रमा मुख्य अभिनयमा रहनेछन् । नाजिरबाहेक अन्य कलाकारहरूको टुंगो लाग्न बाँकी रहेको र केही कलाकार अडिसनबाट छनोट गरिने बताइएको छ । यो बीचमा कलाकार विशाल पहाडीसँग भने सम्झौता भइसकेको छ ।
निर्देशक भट्टका अनुसार चलचित्रको लागि नाजिरले कम्तिमा १५ केजी तौल घटाउनुपर्नेछ । स्क्रिप्टअनुसार नाजिरलाई ५० केजी तौलको पात्रमा तयार हुनुपर्नेछ ।
भदौ अन्तिममा छायांकनमा जाने लक्ष्यकाबीच निर्माण टिम तयारीमा जुटेको छ । चलचित्रलाई आलोक शुक्लाले खिच्नेछन् । चलचित्रले उठाउने कथावस्तुको बारेमा निर्माण टिमले आधिकारिक रूपमा कुनै पनि तथ्य बाहिर ल्याएको छैन ।
क्यानडाको टोरन्टो चलचित्र स्कुलबाट निर्देशन कक्षा लिएर नेपाल फर्केकी भट्टले केही वर्षअघि चलचित्र ‘आधा पेज’ निर्देशन गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्