Logo

काठमाडौंलाई देशकै नमुना अपाङ्गतामैत्री सहर बनाउन माग

२ साउन ०७९, काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरूले काठमाडौंलाई देशकै नमुना अपाङ्गतामैत्री सहर बनाउन माग गरेका छन् । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र उपप्रमुख सुनिला डंगालसँग स्पाइनल इन्जरी नेटवर्कको प्रतिनिधिमण्डलले भेट गरी सो माग गरेको हो ।

काठमाडौं देशकै राजधानी सहर भएकाले यहाँ बसोबास, अध्ययन, रोजगारी, स्वरोजरमूलक पेशा र अन्य कारणले करिब ३ लाख अपाङ्गता भएका व्यक्ति स्थायी र अस्थायी रूपमा बसोबास गर्ने भन्दै महानगरका पूर्वाधार, सेवासुविधालाई अपाङ्गतामैत्री बनाउन उनीहरूले माग गरेका हुन् ।

काठमाडौं नेपालकै प्रमुख पर्यटकीय गन्तव्यसमेत भएकाले स्वदेशभित्रका मात्र नभइ अन्य देशका अपाङ्गता भएका व्यक्ति यहाँ घुम्न आउँदा सार्वजनिक पूर्वाधार, सार्वजनिक शौचालय, सम्पदा क्षेत्र अपाङ्गता पहुँच अनुकूल नहुँदा खराब सन्देश गइरहेको भन्दै उनीहरूले यस्ता पूर्वाधार र सेवालाई अपाङ्गता अनुकूल बनाउन माग गरेका हुन् ।

“महानगरपालिकाले दिँदै आएका सेवासुविधा पनि अपाङ्गताअनुकूल छैनन । यसमा सुधारको खाँचो रहेको छ,” प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्पाइनल इन्जरी नेटवर्ककी उपाध्यक्ष झरना रानाले भनिन्, “दरबार क्षेत्रसहित कुनै पनि सम्पदा क्षेत्रमा अपाङ्गता अनुकूल शौचालयहरू नहुँदा धेरै कष्ट झेल्नु परिरहेको छ ।”
स्पाइनल इन्जरी नेटवर्कका राष्ट्रिय सल्लाहकार गजेन्द्र बुढाथोकीले काठमाडौं देशकै राजधानी सहर भएकाले यसलाई नमुना अपाङ्गतामैत्री सहर बनाउन

जनप्रतिनिधिहरूले ध्यान दिनुपर्ने बताए । “नेपालको संविधानले अपाङ्गता भएका व्यक्तिहरूको कल्याण, सामाजिक सुरक्षाको जिम्मेवारी स्थानीय सरकारलाई सुम्पेको छ । स्थानीय पालिकाका जनप्रतिनिधिले आफूमाथि रहेको यो दायित्व र जिम्मेवारीलाई बुझिदिनुपर्छ,” सल्लाहकार बुढाथोकीले भने ।

नेपालको संविधानले कुनै पनि व्यक्ति, समुदायलाई विभेद गर्न नहुने व्यवस्था गरेको भए पनि महानगरपालिका आफैले पूर्ण र अतिअशक्त अपाङ्गता भएका व्यक्तिबीच विभेद सिर्जना गरेको भन्दै स्पाइनल इन्जरी नेटवर्कले आपत्ती जनाएको छ । “अहिलेको अपाङ्गताको वर्गीकरण नै अवैज्ञानिक छ । स्पाइनल इन्जरी भएका व्यक्तिलाई अतिअशक्त अपाङ्गता भनेर ख वर्गमा वर्गीकरण गरिएको छ,” महानगरपालिकाको ध्यानाकर्षण गराउँदै नेटवर्कले भने, “काठमाडौं महानगरले पूर्ण अपाङ्गता भएका व्यक्तिलाई मात्र सामाजिक सुरक्षा भत्ता दिएर संविधानविपरीत वर्ग विभेद सिर्जना गरेको छ ।”

नेटवर्कका कोषाध्यक्ष कृष्ण भण्डारीले आन्तरिक र बाह्य पर्यटनको आर्कषणको केन्द्रबिन्दु रहेको काठमाडौ दरबार स्क्वायर, स्वयम्भूनाथ, पशुपतिनाथ, बौद्धनाथको परिसर सहित अन्य पर्यटकीय स्थलहरुमा अपाङ्गमैत्री शौचालयको ब्यवस्थाका साथै सार्वजनिक पार्क, स्थलहरु पूर्ण अपाङ्गमैत्री हुनु पन माग गरे ।

“यसअघि नै स्वयम्भूनाथमा लिफ्ट राख्ने भनेर डीपीआर बन्दै गरेको छ, त्यसलाई पूर्ण गर्नका लागि महानगरपालिकाले तत्कालै ध्यान दिनुपर्छ,” भण्डारीले भने, “पशुपतिनाथसहित अन्य विश्व सम्पदा सूचीमा सूचिकृत क्षेत्रहरूलाई मानवमैत्री बनाउनका लागि महानगरपालिकाको विशेष ध्यान पुग्नुपर्छ ।”
उनले यसअघि नै वसन्तपुरमा बनाउन लागिएको अपाङ्गताअनुकूल शौचालय किन रोकियो भनेर प्रश्न गर्दै कम्तिमा सार्वजनिक शौचालयका विषयमा महानगरपालिकालाई संवेदनशील हुन आग्रह गरे ।

महानगरपालिकाकी उपप्रमुख सुनिता डंगालले आफूहरू अपाङ्गता भएका व्यक्तिले उठाएको मागप्रति आफूहरू संवेदनशील रहेको भन्दै महानगरपालिकामा हाल रहेका सार्वजनिक शौचालयलाई पुनर्निर्माण गर्ने क्रममा तिनलाई अपाङ्गतामैत्री बनाउने र नयाँ स्मार्ट शौचालयहरूहरू सबैका लागि अनुकूल हुने गरि बनाइने प्रतिबद्धता जनाए ।

महानगर प्रमुख बालेन शाहले काठमाडौं महानगरपालिकाको संयोजनमा अन्तर्राष्ट्रिय स्तरको व्हीलचेयर बास्केटवल वा क्रिकेट प्रतियोगिता गर्न महानगरपालिका सकारात्मक रहेको बताए ।

स्पाइनल इन्जरी नेटवर्कका उपाध्यक्ष झरना रानाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलमा नेटवर्कका सचिव राजेन्द्र खनाल, कोषाध्यक्ष कृष्ण भण्डारी, सदस्य हिमाल अर्याल (नेपाल स्पाइनल इन्जरी खेलकुद संघका उपाध्यक्ष), सल्लाहकार गजेन्द्र बुढाथोकी, अपाङ्गताअनुकूल पर्यटन अभियन्ता शिव रिमालको सहभागिता रहेको थियो ।

स्पाइनल इन्जरी नेटवर्कले राखेका मागहरू
१) अपाङ्गता भएका व्यक्तिबारे राज्य तहबाटै विभेद सिर्जना गर्न नहुने । वर्तमान वर्गीकरण अनुसार स्पाइनल कर्ड इन्जरीलाई अतिअशक्त अपाङ्गता वर्गीकरण गरि नीलो परिचयपत्र दिइन्छ। स्पाइनल इन्जरी भनेको अतिगम्भीर अपाङ्गता हो । महानगरपालिकाले पूर्णअपाङ्गतामात्रलाई मात्रै सामाजिक सुरक्षाको दायरामा ल्याउँदा विभेद भएको छ । यसमा तत्कालै सुधार होस् ।
२) महानगरपालिकाका सार्वजनिक शौचालय अपाङ्गतामैत्री नहुँदा ठूलो कष्ट सहनु परेको छ । सार्वजनिक तथा निजी साझेदारीमा मुख्य सहरी क्षेत्रमा अपाङ्गतामैत्री शौचालय निर्माण गर्नु पर्ने ।
३) मेरुदण्ड पक्षघात भएका व्यक्तिहरूलाई दैनिक रुपमा नभइ नहुने मेडिकलजन्य सामाग्री (युरिन व्याग, जाइलोकन जेली, सि.आइ.सि.पाइप, फोलिस र सि क्याथेटर, डाइपर, स्यानेटरी प्याड, कोलोस्टोमी व्याग, पन्जा, महानगरले निःशुल्क रुपमा उपलब्ध गराएका औषधीहरू कार्यान्वयनमा ल्याउने साथै मेरुदण्ड पक्षघात भई अपाङ्गता भएका व्यक्तिहरुले नियमित सेवन गर्ने औषधीहरु (अक्सिपास, यूरोडिन ट्याब्लेट) अनिवार्य रुपमा उपलब्ध गराउनुपर्ने ।
४) मेरुदण्डको चोटको आधारमा पक्षघात भएका व्यक्तिहरुलाई सहयोगीको व्यवस्था सहित आवश्यकता अनुसारको सहायक सामाग्रीहरु जस्तैः म्यानुअल र इलेक्ट्रिक ह्विलचियर, बैशाखी, उपयुक्त कुसन तथा अन्य आवश्यक सामग्रीहरु हरेक तीन वर्षमा वडा कार्यलयमार्फत उपलब्ध गराउनु पर्ने ।
५) मेरुदण्ड पक्षघात भएका व्यक्तिहरुलाई योग्यता अनुसारको रोजगार, आवासीय व्यवस्थासहित सीपमूलक तालिमको व्यवस्था गर्नुका साथै उद्योग, व्यवसाय संचालन गर्न चाहेमा महानगरपालिकाले लिँदै आएका सबै कर छुटको व्यवस्था गरिनु पर्ने  ।
६) मेरुदण्डीय पक्षघात भएका ब्यक्तिहरुको खर्चको अनुपातमा खाई पाई आएको सामाजिक सुरक्षा भत्ता अति नै कम भएकोले  पूर्ण अशक्तसरह अति अशक्त  वर्गलाई पनि थप रकम वृद्धि गरिनु पर्ने ।
७) आन्तरिक र बाह्य पर्यटनको आर्कषणको केन्द्र बिन्दु रहेको काठमाडौ दरवार स्क्वायर, स्वयम्भूनाथ, पशुपतिनाथ, बौद्धनाथको परिसर  अन्य पर्यटकीय स्थलहरुमा अपाङ्गमैत्री शौचालयको ब्यवस्थाका साथै ,सार्वजनिक पार्क, स्थलहरु पुर्ण अपाङ्गमैत्री हुनु पर्ने । सबै क्षेत्रमा सहज पहुचको व्यवस्था हुनु पर्ने । स्वयम्भू नाथमा लिफ्टको ब्यवस्था हुनु पर्ने । पशुपतिनाथको सौदर्यकिकरणका साथै सम्पुर्ण क्षेत्र ह्वीलचेयेर पहँुच हुनुपर्ने ।
८) आर्थिक अवस्था कमजोर भएका ब्यक्तिहरुलाई  पुनस्र्थापनाको लागि आवश्यक रकम उपलब्ध गराइनु पर्ने । साथै मनोपरामर्श र फिजियो थेरापी सेवाको निःशुल्क व्यावस्था गरिनुपर्ने ।
९) आर्थिक अवस्था कमजोर  पूर्र्ण र अति अशक्त अपाङ्गता भएका ब्यक्तिहरुका सन्तानहरुले पढ्न चाहेमा निजी तथा सरकारी दुवै मेडिकल र इञ्जिनियरिङ कलेजहरुमा उच्च शिक्षासम्म उचित छात्रवृत्तिको  व्यवस्था गरिनु पर्ने ।
१०) विभिन्न कारणले अपाङ्गता भई व्हीलचेयर प्रयोग गर्न वाध्य भएका खेलाडीहरुको शारीरिक मानसिक विकास र आत्माबल उच्च राख्नको लागि विषेश अवसरमा  वर्षेनी मेयर कप व्हीलचेयर बास्केटबल तथा व्हीलचेयर क्रिकेट खेलको आयोजना गराउनु पर्ने ।
११) बैंक तथा वित्तीय क्षेत्र अपाङ्गतामैत्री नहुँदा वित्तीय पहुँचबाट बञ्चित हुनुपरेको छ । महानगरपालिकाको  नेतृत्वमा पहुँचयुक्त वित्तीय सेवाको पहल हुनुपर्ने महानगरपालिकाका  तथा सबै वडा कार्यालय अपाङ्गतामैत्री बनाउनु पर्ने ।
१२) काठमाडौं महानगरपालिकाको कर तथा महसुलमा अपाङ्गता भएका नागरिकलाई सतप्रतिशत छुट दिने व्यवस्था गर्नु पर्ने
१३) काठमाडौं महानगरपालिकामा कम्तिमा एउटा स्पाइनल इन्जरी रिह्याब सेन्टर र ५ वटाजति अपाङ्गता पुनस्थापना केन्द्र बनाइनु पर्ने ।

प्रतिक्रिया दिनुहोस्