Logo

काठमाडौंको फोहोर उठाउन सात दिन बन्द


४ साउन ०७९, काठमाडौं । आउँदो ७ दिन फोहोर उठाउन बन्द हुने भएपछि काठमाडौं महानगरले घर, पसल तथा व्यवसायबाट उत्पादन हुने फोहोर बाहिर ननिकाल्न अपिल गरेको छ । आज काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको फोहोरमैला व्यवस्थापन समितिको बैठकले बञ्चरेडाँडा पुग्ने सडक निर्माण कार्यमा सघाउ पु¥याउन यस्तो निर्णय गरेको हो ।
सडक अवरोध भएका कारण पूर्ण क्षमतामा ढुवानी हुन नसकेकोले फोहोर व्यवस्थापनको कामलाई अल्पकालीन, मध्यकालीन र दीर्घकालीन उपायबाट समाधान गर्ने प्रयास गर्ने भन्दै यो निर्णय लिइएको हो ।
उपत्यकाको फोहोर ढुवानी गर्ने सडक खण्डअन्तर्गत सिसडोल भ्याली १ मा सडक बनाउन सवारी आवतजावतका कारण कठिनाइ भएको व्यहोरा उल्लेख गर्दै हिजो साउन ३ गते सहरी विकास तथा भवन निर्माण विभागले महानगरलाई पत्र पठाएको थियो । समितिको बैठकमा यही अनुरोधका विषयमा छलफल गर्दै स्यानिटरी ल्याण्डफिल साइट जाने सडकबाट फोहोर ढुवानी कार्य ७ दिनका लागि रोक्ने निर्णय भएको हो । उक्त अवधिभर फोहोर बाहिर फोहोर उत्पादकलाई अनुरोध गर्ने र सडकको फोहोर पोको बनाउँदै व्यवस्थापन गर्ने निर्णय भयो ।
बैठकमा समितिका सदस्य एवं उपप्रमुख सुनिता डंगोल, वडाध्यक्षहरु प्रेम थापा, भुवन लामा, बालकृष्ण महर्जन, ईश्वरमान डंगोल, कुश ढकाल, नवराज पराजुली सहभागी थिए ।
बैठकपछि महानगरबासीका नाममा अपिल जारी गर्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत एवं समितिका सदस्य सचिव लोकनाथ पौड्यालले, घर, पसल, व्यवसायबाट उत्पादन भएको फोहोर सार्वजनिक चोक, गल्ली तथा सार्वजनिक स्थलमा ननिकाल्न र घरमै छुट्याएर राख्न अनुरोध गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्