Logo

एसईईको नतिजा सार्वजनिक, ९६३३ जनाले ल्याए उच्च जीपीए

११ साउन ०७९, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ ।  बुधबार अपरान्ह बसेको बोर्ड बैठकको निर्णयअनुसार एसईईको नतिजा सार्वजनिक गरिएको हो ।

उच्च जीपीए ल्याउन नौ हजार ६३३ जना रहेका छन् । शैक्षिक सत्र २०७८ को परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गरिएको थियो । यो वर्ष ११ हजार ६ सय १५ विद्यालयका ५ लाख १४ हजार ७ सय ६० जना विद्यार्थीले परीक्षा दिएका थिए । एसईईको नतिजा एसएमएस, आईभीआर र वेबसाइटबाट पनि थाहा पाउन सकिन्छ ।

राष्ट्रिय परीक्षा बोर्डले बुधबार सार्वजनिक गरेक नतिजाअनुसार ९ हजार ६३३ जनाले उच्च (३.६ देखि ४) जीपीए ल्याएका छन्।  नतिजामा परीक्षाफललाई विभिन्न ९ वटा वर्गमा विभाजन गरिएको बोर्डले जानकारी दिएको छ।

बोर्डका अनुसार  नतिजालाई ‘ग्रेड प्वाइन्ट’को आधारमा ३.६ देखि ४ जीपीए, ३.२ देखि ३.६ जीपीए, २.८ देखि ३.२ जीपीए, २.४ देखि २.८ जीपीए, २.० देखि २.४ जीपीए, १.६ देखि २.० जीपीए, १.२ देखि १.६ जीपीए र ०.८ देखि १.२ जीपीए ल्याउने विद्यार्थीमा विभाजन गरिएको छ। त्यस्तै, थप एउटा वर्गमा आंशिक अनुपस्थिति वा पुरै अनुपस्थित वर्गमा राखिएको छ।

परीक्षा बोर्डका अनुसार, ०.८ देखि १.२ जीपीए ल्याउने ३२८० (०.६६ प्रतिशत), १.२ देखि १.६ जीपीए ल्याउने ४४५८६ (८.९९ प्रतिशत), १.६ देखि २.० जीपीए ल्याउने १००५९४ (२०.२९ प्रतिशत), २.० देखि २.४ जीपीए ल्याउने ११२७३३ (२२.७४ प्रतिशत), २.४ देखि २.८ जीपीए ल्याउने ९०५५८ (१८.३१ प्रतिशत), २.८ देखि ३.२ जीपीए ल्याउने ६९९०० (१४.१० प्रतिशत), ३.२ देखि ३.६ जीपीए ल्याउने ४१६२७ (८.४० प्रतिशत) र ३.६ देखि ४ जीपीए ल्याउने ९६३३ (१.९४ प्रतिशत) छन्।

परीक्षामा २२ हजार ६४० जना अनुपस्थित थिए। जुन कुल परीक्षार्थीको ४.५७ प्रतिशत हो।

यसरी हेर्न सकिन्छ एसइईको नतिजा

एसइईको नतिजा परीक्षार्थीले बोर्डको वेबसाइटका साथै एसएमएस र आइभीआरबाट पनि हेर्न सकिने व्यवस्था गरेको छ । परीक्षा नियन्त्रक कार्यालयले नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिने जानकारी दिएको छ ।

नेपाल टेलिकम, जानकी टेक्नोलोजी प्रालि, इजी सर्भिस प्रालि, आकाश टेक प्रालिमा सर्टकोड हालेर नतिजा हेर्ने सकिनेछ । त्यस्तै राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी, स्प्यारो पे प्रालि, निमा एडुकेशन फाउण्डेशन, कान्तिपुर पब्लिकेशन, द कनेक्ट प्लस प्रालि, इडियु सञ्जाल र रिडर्स पोइन्ट प्रालिले पनि नतिजा सार्वजनिक गर्ने बताइएको छ । यसपटकको नतिजामा नन ग्रेडिङको व्यवस्था गरिएको छ । ग्रेडिङ प्रणालीले सिकाइको गुणस्तर खस्किँदै गएपछि मन्त्रालयले विद्यालय तहमा न्यूनतम अङ्क ल्याउनुपर्ने व्यवस्थामा जोड दिएको हो ।

प्रतिक्रिया दिनुहोस्