Logo

आज साउन १५, खीर खाएर मनाइदै


१५ साउन ०७९, काठमाडौं ।  आज साउन १५ अर्थात् खीर खाने दिन । नेपाली संस्कृतिमा ‘असार १५ दही चिउरा खानु, साउनको १५ खीर’ भन्ने भनाई रहेको छ ।
नेपाल कृषिप्रधान देश भएको र बहुसंख्यक नेपाली कृषि पेसामा आश्रित भएकोले कृषकहरूले धान रोपेर काम सकेपछि खुसीयालीस्वरूप खीर खाने परम्परा विकास भएको संस्कृतिविद् डा. विष्णु दाहाल बताउछन् । भारतमा पनि साउन महिनामा खीर खाएमा धेरै शुभ हुने मान्यता रहेको छ । साउन महिनाको शुरुवातमा मासुभन्दा पहिले दूधको परिकार खानुपर्छ भनेर नेपालीहरूले साउने संक्रान्तिमा खीर खाने गर्दछन् ।
साउन महिना शिवपुजन महिना भएकाले एक महिनासम्म माछा मासु नखाएर शिवभक्तहरूले भगवान शिवको पूजा गर्ने गर्दछन् । गर्मी महिना भएकोले शरीरमा दाद, खटिरा र लुतोजस्ता रोगले आक्रमण गर्ने भएकोले रोगप्रतिरोधात्मक शक्ति बढाउनुपर्ने हुन्छ । जसको कारण साउन महिना दूध तथा दूधबाट बनेका परिकारहरू खासगरी खीर खाने चलन छ । यसको साथै साउनमा मासु, माछा, मदिरा सेवन नगरी व्रत बस्ने तथा आँप, नास्पाती, भूइँकटहरलगायतका फलफूल खाने चलन छ ।
साउन १५ का दिनलाई खीर खाने दिनको रुपमा चिनिन्छ । साउन महिना वर्षा महिना भएकोले पनि विभिन्न रोगहरुबाट छुटकारा पाउनको लागि पनि दूधबाट बनेको खीर खाने गरिन्छ । खीरमा रोग प्रतिरोधात्मक क्षमता हुने भएकोले पनि खाने गरेको पाइन्छ । बर्षाको समयमा विभिन्न संक्रमण रोग लाग्ने गर्दछ । जसकारणले यस्ता रोगहरु नलागोस् तथा रोगको संक्रमण नहोस् भन्नका लागि खीर खाने गरेको पाइन्छ ।
दूध भात अर्थात् मिठो र पोषिलो खानेकुरा अनि यही हाम्रो सर्वप्रिय दूधभातसँग सख्खर अथवा गूँडको संयुक्त पाकपछि तयार हुने परिकार हो खीर । सकेसम्म वास्मती अथवा तराइतिर पाइने करियाकामत होस् वा टाइचुन अथवा अन्य मसिनो वास्नादार चामल त्यो नभए आफूसँग भएको चामलमा दूध हालेर किसमिस, काजु, नरीवल, छोकडा जस्ता विशेष मरमसला आदि हालेर खीर बनाइन्छ ।
नेपाली चलनचल्तीमा खीर विभिन्न उत्सव, चाडवाड, पूजाआजा, विवाह–व्रतबन्धमा महत्वका साथ पस्किने गरिन्छ । यो नेपाली परिवारको अपरिहार्य परिकारको रूपमा नेपालीहरूबीच लोकप्रिय सांस्कृतिक पकवानको रूपमा परिचित छ । साल या भोर्लाको ठूल्ठूला पातलाई बाँसका कप्टेराका मसिना काँटी (छेस्का)हरुले गाँसेर बनाइएको हरिया दूना टपरीमा हालेर खीर खाँदा पातको बास्ना र खीरको स्वाद अनि त्योसँगै सेलरोटीको नामै मात्रले पनि हामीमध्ये धेरैको जिब्रो रसाएर आउँछ ।

मानव सभ्यतासँगै मानव र दूधको एउटा नमेटिने सम्बन्ध छ र यसबाट बन्ने कैंयन मिठा परिकारहरू विशेषतः शुद्धता, स्वास्थ्य र विशिष्ट स्वादका लागि विश्व समुदायमैं प्रिय बन्न सफल छ । यस्तै परिकारहरूमध्ये अन्न र दूधको अनुपम समिश्रण यस परिकारमा भोजन, पोषण नै यसको आकर्षण हो । सेतो दूध र सेतो चामल मिसाइएको यो भोजनको सम्बन्ध देवताहरुले प्राचीनकालमा गरेको समुन्द्रमन्थनसँग सम्बन्धित छ, त्यसबेलादेखि अहिलेसम्म दूधलाई शुद्धिकरण गर्ने तत्व र पोषण मिसिएको बहुगुणी अमृतकै रुपमा लिइन्छ । आर्युवेदमा समेत खीरलाई प्राचिन भोजनको रूपमा ब्याख्या गरिएको छ । खीर शब्द पनि संस्कृत शब्द ‘क्षिरमा’बाट आएको मानिन्छ । क्षिरमा अर्थात् दूध र अन्नबाट बनेको परिकार भन्ने अर्थ लाग्दछ । रोमन सभ्यतामा पनि खीरलाई खानाको एउटा अपरिहार्य तत्वकारुपमा सेवन गरिने चलन छ । यसलाई ‘पायस’ तथा कतै–कतै यसलाई ‘तस्मै’ पनि भनिन्छ । वैदिक सनातन संस्कारमा पितृहरुलाई चढाउन पायस अर्थात् दूध र अन्नको मिश्रणका रुपमा खीर पकाउने चलन छ ।
भगवान श्री कृष्णले एकदिन साधारण साधुको भेष बदलिएर एउटा राजासँग बाघचाल खेल्न जानुभएको र जीतको बदलामा बिभिन्न मन्दिरहरुमा निःशुल्क गरिब दीनदुःखीहरुलाई खीर खुवाउने शर्त राख्नुभएको थियो । उक्त बाघचाल खेलमा भगवान श्री कृष्णले राजामाथि बिजय प्राप्त गरेको सम्झनामा अझैसम्म पनि मन्दिरहरुमा दीनदुःखीहरूलाई खीर प्रसादका रुपमा बाँड्ने चलन रहेको छ । दक्षिण भारत, बंगलादेश, मालदिभ्स, सियाम राज्य अर्थात् थाइल्याण्ड लगायतका देशमा काँचो नरिवलको दूधबाट खीर बनाउने गरिन्छ ।
हामी संस्कृती र संस्कारमा साँच्चीकै धनी छौं, खीर खानलाई कुनै कार्जे या उपलक्ष्य नै कुर्नपर्छ भन्ने पनि छैन । श्रावणको १५ लाई खीर खाने विशेष दिनको रुपमा लिइन्छ अर्थात् श्रावणको मध्यविन्दु खीरको लागि प्रचलित छ ।
रोपाई सकिन आँट्यो भनेर या चलिरहेको रोपाईसँगै यो दिनलाई खीर कैंयन दशकदेखि स्वादिलो बनाउँदै आएको छ । श्रावण महिनामा पानी पर्ने भएकाले जताततै हरिया घाँसहरु प्रशस्त हुने गर्दछन् जसलाई लैनो गाई तथा भैंसीहरुले अत्यन्त मन पराउने गर्दछन् जसका कारण प्रशस्त दूध पनि दिने गर्दछन् । दूधको कमी नहुने यो प्राकृतिक महिनामा खीर खाएर गति परिन्छ भन्ने धारणा छ ।
लगभग रोपाई सकिसकेको अवस्थामा छ यसपाली, बालीनाली सप्रियोस्, मानो खाएर मुरी उब्जाउन सकियोस्, असार र साउनको दुःख मंसिरमा सुख र आनन्दको रूपमा परिणत होस् अनि मुख्य कुरो खीर जस्तै सेतो स्वच्छ र मिठो विचार हामीमा बनिरहोस् ।

प्रतिक्रिया दिनुहोस्