Logo

बुबाको बेहोसीले छोरीको ज्यान गयो


२३ साउन ०७९, बागलुङ । आफ्नै बुबाका कारण १५ महिने छोरीले अनाहकमा मृत्युवरण गरेकी छिन् । बागलुङ नगरपालिका ६ लमगाउँका दीपक बोहोराले छोरी अनामिकालाई शनिबार अपराह्नतिर जङ्गलमा लगेर छाडिदिएका थिए । चौबिस घण्टासम्म जङ्गलमा अलपत्र परेकी अनामिकाको भोकैप्यासै चिसोमा कठ्याङ्ग्रिएर मृत्यु भएको आफन्तजनले जनाएका छन् । शनिबारदेखि हराएकी उनी आइतबार दिउँसो बेनी नगरपालिका १ अर्जमको जङ्गलमा भेटिएकी थिइन् ।
उद्धारपछि अस्पताल ल्याउँदा नल्याउँदै अनामिकाले प्राण त्यागेको उनका काका गौतम बोहोराले जानकारी दिए । अनामिकाको आइतबार बेलुका धवलागिरि अस्पतालमा निधन भएको थियो । त्यसअघि बेनी १ रत्नेचौरस्थित स्वास्थ्यचौकीमा उनको स्वास्थ्य परीक्षण गरिएको थियो ।
स्वास्थ्यकर्मीले अवस्था गम्भीर रहेकाले छिटो अस्पताल पु¥याउन भनेपछि उनलाई तत्कालै धवलागिरि अस्पताल ल्याइएको थियो । “बाटोमा ल्याइन्जेल पनि रोइरहेकी थिइन्, श्वास पनि राम्रै फेरेझैँ लाग्थ्यो”, गौतमले भने, “अस्पतालमा ल्याएको केही समयमै डाक्टरले मृत घोषणा गरे ।”

उद्धारमा पुग्नुभएका बेनी १ का वडा सदस्य ताराप्रसाद थापाले गाउँलेले रोएको सुनेपछि बालिका फेला परेको बताए । “अर्जमदेखि खबरा जाने सडक नजिक गैँडाराको जङ्गलमा भेटिएकी थिइन्, झट्ट शरीर हेर्दा सकुशल नै जस्तो देखिन्थ्यो तर भित्र गम्भीर असर गरिसकेको रहेछ”, उनले भने ।
रुँदै घस्रेर कतै जान खोजेको अवस्थामा आफन्त र गाउँले मिलेर अनामिकाको उद्धार गरेका थिए । रातभरको वर्षाले पनि उनलाई नराम्रोसँग चुटेको वडा सदस्य थापाले बताए । त्यहीँमाथि उनले पानीसम्म खान पाइनन् । छिट्टै भेटिएर उद्धार हुन सकेको भए अनामिकाको ज्यान जोगिने थियो ।
परिवारजनका अनुसार काममा जानुभएकी आमा सरस्वतीसँग दूध खुवाउन भन्दै दीपकले छोरी अनामिकालाई लिएर घरदेखि हिँडेका थिए । त्यस दिन छोरीलाई श्रीमान्को साथ लगाएर सरस्वती काममा गएका थिए ।
परिवारको गर्जो टार्न काखकी छोरी घरमै छाडेर मेलापात जानु उनको नियति नै हो । तर माया र विश्वास गरेको श्रीमान्ले छोरीलाई त्यसरी अनकन्टार जङ्गलमा लगेर छोड्ने कुरा सरस्वतीका लागि सोच्नसम्म नसकिने कुरा थियो, अफसोच त्यही भइदियो ।

‘मानसिक स्वास्थ्यमा देखिएको असहज अवस्था’का कारण दीपकले त्यस्तो गम्भीर र अस्वाभाविक व्यवहार देखाएको स्थानीयवासीले बताएका छन् । छोरीसहित घरबाट हिँडेका उनी सम्पर्कविहीन भएपछि खोजतलास गर्ने क्रममा निर्वस्त्र अवस्थामा रत्नेचौरमा भेटिएका थिए ।

“निर्वस्त्र अवस्थामा भेटाएपछि प्रहरी कहाँ ल्याएर छोरी कहाँ छिन्भन्दा पनि केही बोल्नुभएन, ठाउँ भनेको भए बचाउन सकिन्थ्यो, उहाँले किन त्यसो गर्नुभयो, हामी पनि अचम्ममा परेका छौँ”, गौतमले भन्नुभयो, “छोरीलाई मार्ने नै उद्देश्य त पक्कै थिएन होला, भिरपहराको बाटो जोगाउँदै लगेर जङ्गलमा एक्लै छोडेको देखिन्छ ।”

बुबाको बेहोसी र अनियन्त्रित आवेगका कारण कल्कलाउँदो छोरीले ज्यान गुमाउनुपरेको घटनाले गाउँछिमेकका धेरैलाई दुःखी बनाएको छ । छोरी बितेपछि सरस्वती विक्षिप्त बन्नुभएको छ । परिवार र आफन्तजन कानूनी प्रक्रिया पु¥याएर शव परीक्षणको पखाईमा छन् । दीपक भने प्रहरी नियन्त्रणमा हुनुहुन्छ ।

स्थायी घर पर्वतको जलजला गाउँपालिका–४ मा भए पनि बोहोरा परिवार अहिले ज्याला मजदुरीका लागि पुख्र्यौली गाउँमा बस्दै आएको छ ।
रासस

प्रतिक्रिया दिनुहोस्