Logo

राजधानीका पुराना महाविहार पुनःनिर्माणमा प्राप्त दानबाट खर्च गरिने

मध्यपुर थिमि, ९ भदाै । मध्यपुर थिमिमा बिहीबार बाैद्व धर्मामलम्बीहरूकाे महान चाड पञ्चदानकाे दिन दिपंकर बुद्बकाे परिक्रम गराईदै । मध्यपुर थिमि मरूटाेलबाट सुरू भई बालकुमारी, लायकू, दिगुटाेल, चपाचाे, बाहाखा, नगदेश, बाेडे परिक्रमा पछि पुनः मरूटाेलसम्म पुर्याईन्छ ।लेन्स : रत्न श्रेष्ठ/रासस

१० भदौं ०७९, काठमाडौं। बौद्ध मार्गीले पञ्चदान पर्वका अवसरमा प्राप्त दान राजधानीका पुराना महाविहारको पुनःनिर्माणमा खर्च गर्ने भएका छन् ।
बज्राचार्य क्लबले आज पञ्चदानबाट जुटेको सहयोग काठमाडौँका पुराना विहारलाई समर्पण गरेको क्लबका सदस्य एवं अभियानकर्मी अच्युत बज्राचार्यले जानकारी दिएका छन् । सुन्धारा नजिकको बज्रशील महाविहार (इकुबहा ः), ठहिँटीको रत्नचैत्य महाविहार (झ्वाबहा ः), नःघलको यमवर्ण महाविहार (गं बहा ः) लगायत राजधानीका पुराना महाविहार पुनःनिर्माणका लागि सहयोग जुटाएको उनले बताए । क्लबले नुवाकोटको सदरमुकाम विदुरमा रहेको पुरानो महाविहार पुनःनिर्माणका लागिसमेत सहयोग गरेको छ ।
यसैगरी नेपाल परम्परागत बौद्ध धर्म संघले पञ्चदान कार्यक्रमबाट जुटेको सहयोगले लुम्बिनीमा निर्माण भई अन्तिम चरणमा पुगेको नेपाल बज्रयान महाविहारलाई सहयोग गरेको छ । कान्तिपुर, कीर्तिपुर, भक्तपुर, बनेपा, धुलिखेललगायत सहरका नेवार समुदायले आज पञ्चदान पर्व मनाएका हुन् । प्रत्येक वर्ष भाद्रकृष्ण त्रयोदशीका दिन यो पर्व मनाइन्छ । नेवार समुदायमा पूजा, खाने वस्तु, पिउने कुरा, औषधि, दैनिक प्रयोजनका चिजबिज गरी पाँच वस्तु भिक्षु जीवन पूरा गरी गृहस्थमा प्रवेश गर्ने शाक्य र बज्राचार्य समुदायका व्यक्तिलाई प्रदान गर्नुलाई पञ्चदान भन्ने गरिएको छ ।

पाटनमा भने यो पर्व श्रावण शुक्ल अष्टमीकै दिनमा मनाइने पनि उनले जानकारी दिए । अन्य सबैतिरका नेवार समुदायले आजै यो पर्व मनाउछन् । सिद्धार्थ गौतमले ज्ञान प्राप्तिका लागि गृहत्याग गरेको घटनासँग पनि यो पर्वको सम्बन्ध रहेको छ । शरीर रक्षाका लागि गौतमबुद्धले भिक्षा ग्रहण गरे ।
दान पारमिता पूण गर्न पञ्चदान गरिन्छ । बौद्ध दर्शनअनुसार दश पारमिता पूरा गरेपछि बुद्धत्व प्राप्ति हुन्छ । दान, शील, क्षान्ति, वीर्य, ध्यान, प्रज्ञा, बल, उपाय, प्रणिधि र ज्ञान गरी दश पारमिता पूरा गरेपछि बुद्धत्व प्राप्त हुने बौद्ध दर्शनका विभिन्न पुस्तकमा वर्णन गरिएको छ ।
पञ्चदान बुद्धत्व प्राप्तिको पहिलो खुड्किलो हो । यसपछि अन्य नौ पारमिता पूरा गर्ने क्रम सुरु हुने जनाइएको छ । यसैगरी आज बौद्धमार्गी नेवार समुदायको बाहुल्यता रहेका देशका अन्य सहरमा विभिन्न कार्यक्रम आयोजना गरी पञ्चदान पर्व मनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्