Logo

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

१२ भदौं ०७९, काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ । संघीय संसद् सचिवालयले आइतबारका लागि तय भएको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुँयालले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराउनेछन् ।

बैठकमा प्रतिनिधिसभामा उत्पत्ति भई सो सभाबाट पारित भएका ‘बिमा विधेयक, २०७५’, ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६’, ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६’ सम्बन्धी प्रतिनिधिसभाबाट प्राप्त सन्देश र राष्ट्रिय सभाले पारित गरी प्रतिनिधिसभामा पठाइएको ‘सहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६’ लाई प्रतिनिधिसभाले संशोधनसहित फिर्ता पठाएको सन्देश सचिव फुँयालले टेबुल गर्नेछन् ।

यस्तै, राष्ट्रिय सभाले पारित गरी सन्देशसहित प्रतिनिधिसभामा पठाइएका ‘शपथसम्बन्धी विधेयक, २०७८’, ‘तथ्यांक विधेयक, २०७६’, ‘स्ट्यान्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक २०७६’ र ‘प्रत्यायन विधेयक, २०७६’का बारेमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी गराउने कार्यसूची छ ।

बैठकमा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी सभासमक्ष गराइनेछ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७९’ माथि प्रतिनिधिसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्