Logo

खैरेनीमा पहिरो जाँदा काठमाडौं आउने जाने सडक अवरुद्ध

फाइल तस्विर

१९ भदौं ०७९, काठमाडौं । शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको जामुने–खैरेनी सडक आज बिहानदेखि अवरुद्ध हुँदा काठमाडौं आउने जाने सडक बन्द छ । म्याग्दे गाउँपालिका ६ मौरीओडारमा पहिरो खसेपछि राजमार्ग दुईतर्फीरूपमा अवरुद्ध भएको हो ।
सडकमाथिबाट पहिरा खसेपछि जामुने–खरेनीटार सडक पूर्णरूपमा अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिएका छन् । पहिरो पन्छाउन प्रहरी टोली पुगिसकेको उनले बताए । “वर्षा भइरहेकाले केही समयमा पहिरो हटाएर राजमार्ग सञ्चालन गराउन प्रयास गरेका छौँ”, उनले भने ।
अविरल वर्षाका कारण खोला बढेपछि म्याग्दे ४ थर्पु बजारमा पनि राप्तीखोलाले बाटो अवरुद्ध बनाएको छ । सडकमाथिबाटै खोला बग्न थालेपछि सडक अवरुद्ध भएको स्थानीयवासी भीमलाल श्रेष्ठले जानकारी दिए ।
पृथ्वीराजमार्गको अन्य ठाउँमा भने वर्षाका कारण बाटो अवरुद्ध नरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्