Logo

निर्वाचनमा प्रत्यक्षतर्फ महिलाको उम्मेदबारी बढाउन पार्टीहरुमा छलफल सुरु


२१ भदौ ०७९,काठमाडौं । आगामी मंसिर ४ गते हुन गइरहेको संघ र प्रदेशको निर्वाचनमा महिलाको उम्मेदबारी बढाउन नेकपा एमाले र माओवादी केन्द्रले फलफल सुरु गरेका छन् ।
राजधानीमा आयोजित ‘संघ र प्रदेशको निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागिता’ विषयक छलफल कार्यक्रममा नेकपा एकिकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वाला, जसपाका पोलिट ब्यूरो सदस्य रेखा यादव, नेकपा माओवादीका पोलिट ब्यूरो सदस्य झक्कुप्रसाद सुवेदी, लोसपाका कार्यकारिणी समिति सदस्य केशव झालगायतले पनि आगामी निर्वाचनमा प्रत्यक्षतर्फ महिला उम्मेदवारी बढाउनुपर्नेमा आ–आफ्नो पार्टीभित्रका बैठकहरुमा हुने छलफल केन्द्रित रहेका बताएका छन् ।
संकल्प र महिला गैरसरकारी संस्था महासंघको आयोजनामा राजधानीमा सोमबार आयोजित विभिन्न राजनीतिक दलका नेताहरुले प्रत्यक्षतर्फ महिलाको उम्मेदवारी बढाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य नयनसिंह महरले नेपाली कांग्रेस समावेशी पार्टी भएकाले आगामी निर्वाचनमा सकेसम्म प्रत्यक्षतर्फ महिलाको उम्मेदवारी बढाउने सम्बन्धमा सकारात्मक रहेको बताए । नेकपा एमालेकी पोलिट ब्यूरो सदस्य सीता पौडेलले प्रत्यक्षतर्फ पनि महिलालाई आरक्षणको व्यवस्था नगर्ने हो भने प्रत्यक्षबाट महिला सहभागिता बढाउन नसकिने विचार राखिन् ।
बरिष्ठ पत्रकार आरती चतौटले अगाडि बढाएकी थिइन् । त्यसैगरी कार्यक्रममा संकल्पकी अध्यक्ष संगीता लामाले आगामी संघ र प्रदेशको निर्वाचनमा प्रत्यक्षतर्फ महिलाको उम्मेदवारी बढाउनुका साथै जित्नेको संख्या बढाउने उदेश्यले उक्त बहस चलाइएको बताइन् । उनले आगामी चुनावमा प्रत्यक्षतर्फ महिला उम्मेदवारी बढाउनुका साथै महिला भित्रको दलित, जनजाति, एकल, भौगोलिक रुपमा पछाडि पारिएकालगायतका समावेशीतामा विषयमा पनि ध्यान दिनुपर्ने बताइन् । त्यसैगरी महिला गैरसरकारी संस्था महासंघकी अध्यक्ष डा.शशी अधिकारी राउतले प्रत्यक्षतर्फ महिलाको उम्मेदवारी बढाउनुका साथै जित्ने ठाउँमा महिलालाई टिकट दिने विषयमा पहल गरिनुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा गैरसरकारी संस्था महासंघकी उपाध्यक्ष भावना भट्ट, पत्रकार कमला पन्थी, दुर्गा कार्की, कृष्ण किसीलगायतले प्रत्यक्षतर्फ महिला उम्मेदवारी बढाउने विषयमा नेताहरुले कस्तो पहल गर्नुहुन्छ भन्ने विषयमा जिज्ञासा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्