Logo

जवलाखेलको केन्द्रीय चिडियाखाना साघुरो


३० भदौं ०६९, काठमाडौं । ललितपुरको जाउलाखेलमा निर्माण गरिएको केन्द्रीय चिडियाखानामा हिजोआज वन्यजन्तुका लागि साँघुरो बन्दै गएको छ । करिब पाँच हेक्टर क्षेत्रफलमा फैलिएको नेपालको केन्द्रीय चिडियाखानामा वन्यजन्तुको सङ्ख्या बढ्दै जाँदा वन्यजन्तुको बासस्थान साँघुरिएको बताइएको छ ।
यसैगरी आगन्तुकको भीडले होहल्ला हुँदा वन्यजन्तुलाई असर गर्ने गरेको छ । वन्यजन्तु मैत्री खोर भए पनि ठूला हलको अभावमा समस्या समाधान हुन नसकेको चिडियाखाना प्रशासनले जनाएको छ ।
विसं २०५२ देखि चिडियाखानाको व्यवस्थापकीय जिम्मेवारी राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) ले गर्दै आएको छ । हाल सदर चिडियाखानामा कूल एक सय १३ प्रजातिका एक हजार एक सयभन्दा बढी वन्यजन्तु राखिएको छ । यी प्रजातिमध्ये ३३ स्तनधारी, ६१ पक्षी, आठ उभयचर र १७ माछा राखिएका छन् । नेपालमा लोप हुन लागेका भनी सुचिकृत ३८ दुर्लभ वन्यजन्तुमध्ये १५ प्रजातिलाई चिडियाखानामा संरक्षण गरी प्रदर्शनीमा राखिएको छ ।


चिडियाखानाले अन्य देशका चिडियाखानासँग पशुपक्षी आदानप्रदान कार्यक्रम चलाएर वनमान्छे, अष्ट्रिच, जल गैँडा र बाह्य प्रजातिका पक्षी ल्याएर प्रदर्शनमा राखिएको छ । वन्यजन्तुलाई वातावरण अनुकूल हुने खोर निर्माण गरिएको भए पनि ठाउँ अभावमा ठूला वन्यजन्तुलाई साँघुरो हुँदै गएको चिडियाखाना प्रमुख रचना शाहले बताइन् । उनले भनिन्, “वन्यजन्तुलाई वातावरण अनुकूल हुने खोर निर्माण त गरिएको छ, तर पनि गैँडा, भालु, बाघलगायत ठूला वन्यजन्तुलाई ठाउँ अभावमा केही साँघुरो भएको छ ।”

फाइल तस्विर : चिडियाखानामा आहारा खाने क्रममा बाघ ।

चिडियाखानामा प्राकृतिक बासस्थान जस्तै नभएपछि कृत्रिम वातावरण निर्माण गरेर वन्यजन्तुको व्यवस्थापन भइरहेको प्रमुख शाहले जानकारी दिइन् । चिडियाखानाका वन्यजन्तुलाई नियमितरुपमा दिइने पोषण तथा खाना भने अन्तर्राष्ट्रिय मापदण्डअनुरुप नै दिइने गरेको चिडियाखाना प्रशासनले जनाएको छ ।
मांशहारी जीवलाई राँगाको र कुखुराको मासु तथा केही जीवलाई माछा दिइने गरिएको बताइएको छ । भालुलाई दूधसँगै ब्रेड पनि दिइन थालिएको छ । चिडियाखानामा राँगाको दैनिक ३७ केजी, कुखुराको मासु १० केजी र माछा पाँच केजी वन्यजन्तुलाई खुवाइने गरिएको बताइएको छ ।
यस्तै १४ लिटर दूध प्रयोग हुने गरेको छ । पोथी बाघलाई पाँच केजी, भालेलाई छ केजीका दरले दैनिकरुपमा राँगाको मासु दिइने गरिएको चिडियाखाना प्रशासनको दाबी छ । जलगैँडा, अर्ना, मृग, हात्तीजस्ता साकाहारी जीवजन्तुलाई फलफूल, चोकर, घाँस, दाना, पीठो दिने गरिएको छ । चिडियाखानाको क्षेत्रफल सानो र जोडी समस्याका कारण बाघ, भालु, वनमान्छे, घडियाल गोही, चाइनिज एलिगेटर, जलगैँडा (हिपो), एकसिङ्गे गैँडा, हात्तीलगायतको सङ्ख्या बढ्न नसकेको बताइएको छ । चिडियाखानाले सयभन्दा बढी घाइते, समस्याग्रस्त, अनाथ र चोरी सिकारीमा परेका जीवजन्तु उद्धार गर्ने गरेको बताइएको छ ।
विसं १९८९ मा तत्कालीन राणा प्राधानमन्त्री जुद्धशम्शेरले निजी प्रयोजनका लागि स्थापना गरेको उक्त चिडियाखाना विसं २००७ पछि यसको स्वामित्व नेपाल सरकारले लिएको थियो ।


विसं २०५२ पुस १४ मा स्व राजा वीरेन्द्र शाहको स्वर्ण शुभजन्मोत्सवका अवसरमा चिडियाखाना व्यवस्थापनको जिम्मा तत्कालीन सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी)लाई दिएको हो । त्यसपछि सरकारका विभिन्न निकायले यसको व्यवस्थापन गर्दै आएका छन् । जावलाखेलमा रहेको सदर चिडियाखाना साँघुरो भएपछि सरकारले भक्तपुरस्थित सूर्यविनायकमा निर्माण प्रक्रियाको थालनी गरेको छ । सूर्यविनायकमा दुई सय ४५ हेक्टर क्षेत्रफलमा ‘जिओलोजिकल गार्डेन’ सहित चिडियाखाना बनाइँदै गरिएको प्रमुख शाहले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्