Logo

देशभर उत्साहजनक रूपमा मनोनयन दर्ता, कुन नेता कहाँबाट ?

२३ असोज ०७९, काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि प्रत्यक्षतर्फ देशभर उत्साहजनकरूपमा उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ । प्रत्यक्षतर्फ देशभरिका एक सय ६५ प्रतिनिधि सभा र तीन सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयनपत्र दर्ता शान्तिपूर्ण र उत्साहजनकरूपमा भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् ।

निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि आज आइतवार बेलुका ५ बजेसम्मको समय तोकेको थियो । सबै ७७ वटा जिल्लामा स्थापना भएका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार आफैँ वा उम्मेदवारका प्रतिनिधि र वारेसनामाबाट पनि मनोनयनपत्र दर्ता गर्न सकिने व्यवस्था थियो । त्यसैअनुसार उम्मेदवारले मनोनयनपत्र दर्ता गरेका छन् ।

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मनोनयन दर्ता गरेका छन् । उनको वारिसनामामार्फत डडेल्धुराबाट प्रतिनिधि सभा सदस्य पदको उम्मेदवारमा मनोनयन दर्ता गरिएको हो । प्रधानमन्त्री पत्नी एवम् कांग्रेस केन्द्रीय सदस्य डा.आरजु राणा देउवाले आज दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरामा मनोनयन दर्ता गरेकी हुन् ।
पार्टीका जिल्ला सचिव हेमराज चटौत प्रस्तावक र पार्टी उपसभापति डिल्लीराज जोशी समर्थक रहनुभएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए ।
यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा पुगेर प्रतिनिधि सभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् । उनी आफैँ उपस्थित भएर आज दिउँसो झापा क्षेत्र नम्बर ५ मा उम्मेदवारी दर्ता गराएका हुन् । ओली २०७४ सालमा पनि झापा–५ बाट निर्वाचित भएका थिए ।

यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोरखा क्षेत्र नम्बर–२ बाट उम्मेदवारी दर्ता गरेका छन् । उनी गोरखा पुगेर मनोनयन दर्ता गरेका हुन् । उनको प्रस्तावक नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र समर्थकमा नेपाली कांग्रेस गोरखाका सचिव किशोरजङ थापा रहेका छन् । उम्मेदवारी दर्ताको क्रममा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए।
यस्तै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधि सभा सदस्यमा रौतहट निर्वाचन क्षेत्र नम्बर–१ बाट मनोनयन दर्ता गराएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले रौतहट–१ बाट सत्तारूढ गठबन्धनको साथमा उम्मेदवारी दर्ता गराएका हुन् । उनले मुख्य निर्वाचन अधिकृतको कार्यालय गौर नगरपालिका पुगेर मनोनयन दर्ता गरे ।

यस्तै राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रतिनिधि सभा सदस्य पदका लागि सूर्य चिह्नबाट चुनाव लड्ने गरी उम्मेदवारी दिएका छन् ।

यस्तै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधि सभा सदस्य पदका लागि तनहुँ–१ बाट उम्मेदवारी दर्ता गराएका छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शशांक कोइरालाले पूर्वी नवलपरासी वडा नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले चितवन क्षेत्र नम्बर–२ बाट उम्मेदवारी दर्ता गराएका छन् । दाङ क्षेत्र नम्बर–१ प्रतिनिधि सभाका लागि नेकपा एमाले केन्द्रीय सदस्य गंगा थारु सत्गौवाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छन् ।

काठमाण्डौ क्षेत्र नम्बर ४ बाट कांग्रेस महामन्त्री गगन थापा उम्मेदवार बनेका छन् । काठमाडौं क्षेत्र नम्बर ५ मा भने एमालेका ईश्वर पोखरेल र नेपाली कांग्रेसका प्रदीप पौडेल उम्मेदवार बनेका छन्। यही क्षेत्रमा रञ्जु दर्शनाले पनि स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएकी छन् ।
काठमाडौं क्षेत्र नम्बर १ मा भर्खरै विवेकशील साझा त्यागेर राप्रपा प्रवेश गरेका रवीन्द्र मिश्रले उम्मेदवारी दिएकी छन् । त्यही क्षेत्रबाट नेपाली कांग्रेसका प्रकाशमान सिंह र पूर्वप्रहरी अधिकृत रमेश खरेल पनि चुनावी मैदानमा छन् ।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराईले काठमाडौं क्षेत्र नम्बर ७ बाट नेकपा माओवादी केन्द्रको समर्थनमा उम्मेदवारी दिएकी छन् ।
माओवादी केन्द्रकी नेत्री पम्फा भुसालले ललितपुर क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएकी छन् । यस्तै एमाले नेता महेश बस्नेतले भक्तपुर क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्