Logo

ललितपुरको ठेचोमा १२ बर्षे जात्राको भोजका लागि संरचना भत्काएपछि विवाद


ललितपुर खबर
२४ असोज ०७९, ललितपुर । ललितपुरको ठेचोस्थित दुरीखेल क्षेत्रमा १२ बर्षे जात्राको क्रममा भोज खुवाउनका लागि स्थानीयको पर्खाल र गोठलगायतका संरचना भत्काउने क्रममा विवाद श्रृजना भएको छ ।
यहाँका नीजि जग्गामा धेरै बर्षअघिदेखि ठेचोस्थित नवदुर्गा भवानी गुठीको १२ बर्षे जात्राको क्रममा देशभोज(ठेचोबासीलाई खुवाउने भोज) खुवाउने गरिएको थियो । नीजि जग्गामा पछिल्ला समय घर टहरा र पर्खाल निर्माण भएको र गुठीले सनातनदेखि भोज खुवाउने ठाँउ रहेको भन्दै टहरा र पर्खाल भत्काउदा विवनाद श्रृजना भएको छ ।
आइतबार दिउँसो गुठीका प्रतिनिधिहरुले भोजस्थलमा रहेका नीजि जग्गामा बनाइएका पर्खाल तथा गोठ भत्काएका थिए ।
गतशुक्रबार जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र वडा नंं १२का वडाध्यक्ष जगतबहादुर महर्जनको रोहरमा देउता खलकको संलग्नतामा जग्गा खाली गराउने सहमती भएको स्थानीय गंगाराम महर्जनले बताए । तर उनीहरुको रोहबरविनै संरचना भत्काउदा चिनो अनुसार नभत्काइ गोठ भत्काएको भन्दै उनले दुखेसो पोखे ।
उनको भत्काउनु परे पनि चिनो अनुसार भत्काउनु पर्ने आफ्नो राय रहेको उनले बताए ।
भोज खुवाउनका लागि ठाँउ अभाव भएको भन्दै स्थानीय डोलप्रसादले भाडामा लिएर बनाएको गाई बाधेको गोठ भत्काएको बताए । उनले भने ‘गाई बाध्ने ठाँउ नभएर अलपत्र छ । मलाई पनि पिटे ।’


स्थानीय कविता राईले भोज खुवाउने ठाँउमा आफ्नो पितृको चुल्हो रहेकोले घुमाएर खाली ठाँउ भएको ठाँउतिरबाट भोज खुवाउन अनुरोध गरेको बताइन् । उनले भनिन, ‘तर आज मेरो कुरा कसैले सुनेन पर्खाल भत्काइयो । पितृ राखेको ठाँउमा यसो गर्दा पाप उनीहरुलाई पनि लाग्छ ।’
यही भोजस्थलमा भर्खरै घर निर्माण समेत भएको छ । घर निर्माण गर्दा वडाकार्यालयले स्वीकृती दिइएको बताइएको छ । तर भोजका लागि घर भत्काउनु पर्ने भन्ने कुरा आएपछि अदातलमा मुद्दा परेको र तत्काल नभत्काउन स्टेअर्डर आएको छ ।
अन्य संरचनाका हकमा स्थानीयसँग सहमती गरेर जनप्रतिनिधि र प्रहरी प्रशासन बसेर विवाद मिलाउने सहमती भए पनि प्रशासनका कोही नआएको र एक्कासी गुठीका प्रतिनिधिहरु आएको स्थानीयहरुले गुनासो गरे ।


एक स्थानीयले नीजि जग्गामा भोज खान देउ भन्ने कानूनी आधार नभएकाले मेयर र वडाध्यक्ष नआएको दावी गरे । उनले भने, ‘अरुको नीजि जग्गा देउ भन्न कसरी आउथे ।’
स्थानीयहरु नगरपालिकाले नक्का पासको अनुमती दिएर मात्रै घरहरु बनाइएको बताए । उनीहरु सनातनदेखि नै गुठीले प्रयोग गरेको भए नक्सामा राख्नु पर्ने तर्क गर्छन् । भन्छन्, ‘प्रशासनले सार्वजनिक जग्गा कामय गरेको भए कुरै उठ्दैनथियो ।’
नीजि जग्गामा भोज खुवाएर परम्परा कायम गर्नु पर्ने जरुरी नै भए गुठीका भद्रभलाद्मी आएर स्थानीयसँग बसेर राम्रोसँग अनुनय विनय गरेको भए सहमती हुने स्थानीय हरु बताउछन् । उनीहरु एक्कासी आएर कुरै नगरी नीजि संरचना भत्काउदा चित्त दुखेको बताउछन् ।
यस ठाँउमा पछिल्लो समय ३ वटा घर निर्माण भएका छन् भने झण्डै आधा दर्जन गोठ र धेरै पर्खाल निर्माण भएको छ ।
प्रशासनले स्थानीयहरुलाई सहमत गराएर नगरपालिकाले सडक निर्माण गराए समस्या समाधान हुने स्थानीयहरु बताउछन् । एक स्थानीयले भने, ‘घरमा जान बाटो चाहिन्छ सहमती गराएर अलि ठूलो बनाए भइहाल्यो नि ।’
२०६७ सालमा बाह्र वर्षे जात्रामा क्रममा पनि यहाँका पर्खाल भत्काएर भोज खुवाइएको थियो । यहाँ बनेको घर भने छलेर भोज खुवाएको स्थानीयहरु बताउछन् ।
गोदावरी नगरपालिका १२का वडाध्यक्ष जगतबहादर महर्जनले गोठ तथा पर्खाल भत्काउदा आफूलाई नबोलाइएको बताए । उनले भने, ‘सहमती अनुसार नभत्काउ पनि विवाद भएछ । एउटै कुरा कति पल्ट छलफल गर्नु ।’
ललितपुर जिल्ला प्रमुख जय नारायण आचार्यले आफूले सबै सरोकारवालालाई राखेर छलफलपछि अहिलेलाई भोज नराक्न संरचना भत्काउने र स्थानीय पालिकाले बनाई दिने सहमती गराएको बताए । उनले भने, ‘हामी दिगो समाधान खोज्न पहल गर्नेछौं ।’
उनले भोजको सुरक्षाका लागि पर्याप्त सुरक्षाकर्मी परिचालन हुने बताए ।
हरेक १२ वर्षमा हुने नवदुर्गा भवानीको जात्राको क्रममा ठेचोका स्थानीयलाई यस ठाँउमा कोजाग्रत पूर्णिमाको भोलिपल्ट कमल पातमा ११ भोज खुवाउने चलन छ । भोजमा हरेक घरको १ जना मुली सहभागी हुन्छन् । भोज सिधा एक लाइन राखेर खुवाउने गरिन्छ ।

 

 

प्रतिक्रिया दिनुहोस्