Logo

‘महापुरुष’ लाई बुबाआमाको आँखाबाट भनिएको छ–निर्देशक प्रदीप भट्टराई

३ कात्तिक ०७९, काठमाडौं । निर्देशक प्रदीप भट्टराई नेपाली फिल्मको सफल निर्देशकमध्येका एक हुन् । ठूला ब्यानर र अभिनेताहरू उनीसँग काम गर्न तयार छन् । टेलिफिल्म हुँदै ‘जात्रा’ मार्फत ठूलो पर्दामा निर्देशकको बनेर उदाएका प्रदीपले सफलतामा ह्याट्रिक गरिसकेका छन् । जात्रा, शत्रु गते, जात्रैजात्रा निर्देशन गरिसकेका प्रदीपले बक्स अफिसमा व्यावसायिक नम्बरसँगै समीक्षकको रेटिङ पनि बढाउन सफल भइसकेका छन् ।

आउँदो तिहारमा उनी आफू निर्देशित चौथो फिल्म ‘महापुरुष’ लिएर दर्शकसामु आउँदैछन् । दुई पुस्ताको प्रेम देखाएको फिल्ममा उनले एक्लोपनको कथा भनेका छन् । लेखक र निर्देशकको दायित्वमा रहेका भट्टराईले यसपटक अझै परिपक्कता फिल्ममा देखिने बताउँछन् । समाजमा विद्यमान गम्भीर विषयलाई सरल प्रस्तुतिमार्फत तोड्ने आँट आफूसहित टिमले गरेको उनको भनाइ छ । दर्शक र समीक्षकको विश्वास बढ्दै गर्दा उनमा दायित्व बढेको छ । फिल्मसँग कुनै साइनो नरहेको प्रदीपको सफलताको कथा फिल्मभन्दा कम छैन ।

सर्टिफिकेट हराएको मान्छे

प्रदीप सर्लाही हरिवनका बासिन्दा हुन् । उनले मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनित तथा निर्देशित टेलिसिरियल बाल्यकालमै हेरेका थिएँ । उनलाई विज्ञापन, १५ गते, लालपुर्जा मन पथ्र्यो । गाउँमा जाग्राम बस्ने अवस्था आउँदा रातिको समयमा उल्लेखित सिरियलहरू उनले हेरेका थिएँ ।

‘०४८/०४९ सालमै उहाँहरूको एक किसिमको प्रभाव परिसकेको थियो । त्यसैले मलाई कला र यसका गतिविधितर्फ अगाडि बढ्न मद्दत गरे जस्तो लाग्छ’, प्रदीपले भने । गाउँबाट एसएलसीको सर्टिफिकेट लिएर कलेज पढ्न काठमाडौं आएका प्रदीपलाई रेडियो नेपालमा पुग्ने र हेर्ने रहर थियो । उनी संगीत र कलासँग नजिक हुन चाहन्थे । यद्यपि सिंहदरबारमा प्रवेश पाउन मुस्किल थियो । आफूसँग रहेको साइकलको पछाडि सर्टिफिकेट च्यापेर सहर घुम्ने क्रममा त्यो पनि हरायो ।

‘सर्टिफिकेट हरायो । तर भेट्ने व्यक्ति आर्मी हुनु हँुदोरहेछ । उहाँ सिंहदरबारभित्र रहेकाले पहिलोपटक प्रवेशको मौका मिल्यो । रेडियो नेपाल पनि पुगें’, उनले भने । त्यसपछि सिंहदरबार प्रवेश गर्न उनलाई सहज भयो । पुल्चोकबाट हिँडेर उनी ठमेलस्थित सरस्वती क्याम्पस पढ्न जान्थे । कलाप्रतिको लगावले नै उनलाई त्यो क्याम्पस छनोट गर्न सघाएको रहेछ ।

‘सरस्वती नाम भएपछि अरु क्याम्पस हेरेनौ । स्ववियुका विद्यार्थीमार्फत भर्ना हुने भनेर केही शुल्कसमेत मसहित साथीले तिरेका थियौँ । यद्यपि दिनहुँ हुने हुलदंगाले पढाइ राम्रो हुन सकेको थिएन’, उनले भने । यसले गर्दा उनले पढाइसँगै काम पनि खोज्न थाले ।

फिल्मसँग सम्बन्ध 
निर्देशक भट्टराई पुल्चोकबाट पढ्न सरस्वती क्याम्पस ठमेल पुग्ने गर्थे । सोही क्रममा थापाथलीमा पत्रिका पढ्ने क्रममा गुण सिनेमालाई पाँचौ वार्षिकोत्सवको शुभकामना देखे । उनले त्यहाँ निर्माता तैयव शाहको नम्बर देखे । पढाइ राम्रो नभएकाले आफ्नो लगावको क्षेत्र फिल्महरूमा काम गर्ने सोचका निर्माता शाहलाई साथ फोन गरे । ‘मैले कुरा गरेर तत्कालीन समयमा नर्भिक हस्पिटलकै छेउमा रहेको तैयव दाइको अफिसमा भेट्न गएँ । म उहाँहरूसँग केही काम पाइन्छ कि भनेर नजिक हुन थाले’, प्रदीपले भने ।

उनी पहिलोपटक निर्माता शाहकै फिल्म ‘बैमानी’ को छायांकनमा जोडिने मौका पाएँ । उनी छायांकनमा पुगे पनि त्यहाँ कुनै जिम्मेवारी भने पाएनन् किनकि अनुभव थिएन । ‘कुनै तोकिएको जिम्मेवारी नहुँदा सबै काम गर्थें । त्यो देखेर फिल्मको क्रिउलाई यसले केही गर्न सक्छ भन्ने लागिसकेको थियो । त्यही प्रभावले मैले काम पाएँ’, उनले भने । त्यही क्रममा विजय चालिसेमार्फत उनले विजय थापालाई चिने । त्यो चिनजानले उनलाई कान्तिपुर टेलिभिजनको एक सिरियलमा काम गर्ने मौका दियो ।

मह जोडीसँग काम 

प्रदीपले काठमाडौंमा चार वर्ष बिताइसक्दा पनि मह जोडीसँग काम गर्न पाएका थिएनन् । उनले फाट्टफुट्ट भेट्नुबाहेक संवादसमेत गर्न पाएका थिएनन् । उनलाई रहर नभएको होइन, तर जुरेको थिएन । ‘मुख्य सहायक निर्देशक भएर नारी सिरियलमा काम गर्ने अवसर पाएपछि मेरो चिनजान गौरीशंकर धुजू दाइसँग भयो । गौरी दाइलाई मह जोडीसँग भेट्ने इच्छा सुनाउने गर्थे’, निर्देशक भट्टराईले भने ।

उनको अनुरोध मह अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसम्म नपुगेको होइन । तर प्रदीपले आफू चिनिने काम गरिसकेका थिएनन् । त्यही कारण हरिवंशले गौरीशंकरको प्रस्तावलाई गम्भीरतापूर्वक लिएनन् । प्रदीपले आफ्नो प्रयास विफल भएको ‘टिकेको तीन मन्त्र’ सिरियल बन्ने समयमा थाहा पाएँ । ‘नारीको अन्तिम दिनको छायांकन गोदावरीमा भइरहेको थियो । त्यो सकाएर सबै ‘टिकेको तीन मन्त्र’ मा जाने तय थियो । त्यो टिमबाट म मात्र भोलिपल्ट रूम फर्किदै थिएँ’, उनले भने ।

राति अबेरसम्म छायांकन गरेर सम्पूर्ण टोली मह सञ्चारको सिरियलतर्फ लागे । निर्देशक भट्टराई भने गोदावरीमै सिरियलको अफिसमा बसेर भोलिपल्ट चाबहिलस्थित डेरामा फर्किए । उनलाई दिउँसो गौरीशंकरको फोन आयो । महाराजगन्जमा रहेको बटम प्यालेसमा पुग्नुपर्ने सन्देश पाए । ‘हामीले ६ महिना बढी काम ग¥यौं । छायांकन हेर्न आइज भनेर बोलाएको जस्तो लाग्यो । म हतार नगरी विस्तारै त्यता लागें । म पुग्दा सुमिना श्रेष्ठको सिन छायांकन भइरहेको थियो’, भट्टराईले भने ।

उनी त्यहाँ पुगेपछि कमल मैनालीले ‘कन्टिन्युटी सिट’ दिए । त्यसपछि उनलाई आफू पनि सिरियलको एक सदस्य रहेको जानकारी भयो । गौरीशंकरले हरिवंशलाई काम हेर्नु भन्दै जबर्जस्ती नै मनाएका रहेछन् । पहिलो दिन नै भए पनि उनीभित्रको निर्देशक शान्त थिएन । उनी चित्त नबुझेको कुरा भन्न चाहन्थे । तर पहिलो दिन नै उनले त्यो आँट गर्न सकेनन् ।

‘मलाई लागेको कुरा गौरी दाइ, कमल दाइलाई भन्थें । विस्तारै त्यो सल्लाहहरू मदन दाइ र हरि दाइसम्म पुग्न थाल्यो । ती सल्लाहमा विचार हुन थालेपछि मैले भन्न थालें । दिन बित्दै जाँदा मलाई देखाउँदै त्यो भाइको सल्लाह राम्रो छ भन्न थाल्नुभयो । लगभग दुई साताको छायांकनको समयमा मैले विश्वास जित्न सफल भएँ’, उनले भने । त्यही सिरियलको सम्पादन, संगीतसहित अन्य काममा प्रदीपलाई महले विश्वास गर्दै जिम्मा दिएँ ।

‘छायांकनकै क्रममा एकदिन च्याट गर्नुपर्ने दृश्य थियो । कसरी खिच्ने भन्ने सल्लाहकै बीच दुई कम्प्युटरमार्फत खिच्न सकिने आइडिया सेयर गरे । त्यो हरिदाइलाई मन परेछ । त्यसपछि मह सञ्चारको नछुट्ने सदस्य बनें,’ भट्टराईले भने ।

महलाई निर्देशन 

प्रदीपको सल्लाह लिन थालिएपछि उनले झनै भन्ने आँट बटुले । उनी कारणसहित स्पष्ट थिए । त्यही शैली मह जोडीलाई मन परेको थियो । दुई वर्षपछि मुख्य सहायक निर्देशक भएर प्रदीपले महलाई निर्देशन गर्ने मौका पाए । ‘मैले एक्सन कट त पहिला नै भन्थें । तर एकदिन हरिदाइसँग गाडीमा जाँदै गर्दा मलाई एउटा सिरियल लेख्नुहुन्छ भनेर सोध्नु भयो । पाएको अवसरलाई सदुपयोग गर्दै हुन्छ भनें’, उनले भने । त्यही सिरियल ‘लेफ्ट राइट लेफ्ट’ मार्फत प्रदीपले लेखक र मुख्य सहायक निर्देशक भएर काम गर्ने अवसर पाए ।

मह जोडी पर्दामा हुँदा दृश्य भयो कि भएन भनेर निर्णय लिन उनलाई गाह्रो हुन्थ्यो । ‘उहाँहरूको दृश्य खिच्दा गौरीशंकर दाइलाई हेरेर के छ भनेर सोध्नुहुन्थ्यो । पछाडि त्यो विश्वास मतर्फ पनि सर्दै गयो । विश्वाससँगै जिम्मेवारी पनि बढ्यो’, निर्देशक भट्टराई भन्छन् । ‘रि–टेक’ लिउँ भन्दा प्रदीपलाई गाह्रो हुन्थ्यो । कारण खुलाउनुपर्ने साथै लिजेन्डलाई यो भएन भनेर भन्न गाह्रो हुने । यो समस्या प्रदीपलाई ‘आउटडोर’ मा धेरै हुन्थ्यो । ‘मदन दाइ र हरिदाइले कहिले गाह्रो मान्नु भएन । हामीलाई पर्दामा देखाउन भनेको हो भनेर एकै दृश्यलाई पनि कयौंपटक गर्न तयार हुने गर्नुहुन्थ्यो’, प्रदीपले भने ।

मह सञ्चार हुँदै फिल्म निर्देशक बनेका प्रदीपको प्रगतिले हरिवंश खुसी छन् । ‘हामीबाट सिक्दै करिअर सुरू गरेर हामीलाई नै सिकाउँदा गर्व लाग्छ । उनले गरेको मेहनतले यो स्थान दिएको हो’,अभिनेता आचार्यले भने । उनले निर्देशक भट्टराईको बारेमा अन्य फिल्मकर्मीमार्फत सकारात्मक कुरासँगै सफलता सुन्ने गरेका छन् ।

अभिनेता आचार्यलाई प्रदीपको स्क्रिप्टप्रतिको गम्भीरता मन पर्छ । ‘उनले छनोट गर्ने विषय र त्यसलाई पर्दामा ल्याउँदा तयार पार्ने स्क्रिप्टले उनको ग्रोथलाई देखाउँछ । उनले गरिरहेको कामलाई इमान्दार भएर गर्छन् । यसैले उनलाई सफल बनाइरहेको छ’, अभिनेता आचार्यले भने ।
प्रदीपले टेलिफिल्म हुँदै फिल्ममा निर्देशन गर्दा अभिनेता मदनकृष्ण श्रेष्ठ खुसी छन् । ‘प्रदीपले बनाउने फिल्मले दर्शक मन जितिरहेको छ । उनले यो स्थानसम्म आउन गरेको मेहेनतले अझै सफलता दिलाउनेमा विश्वस्त छु । उसले दिने भूमिका मान्छेलाई राम्रोसँग बुझेर मात्र दिन्छ’, अभिनेता श्रेष्ठले भने । उनले प्रदीपले मेहनत गरेसम्म सफल भइरहने बताए ।

महको प्रेरणा 

मदनकृष्ण र हरिवंशबाट जीवन सिकेको प्रदीप बताउँछन् । महलाई आफ्नो स्कुल मान्ने प्रदीपले सिकेको जीवन र सरलतालाई अगाडि बढाइरहन चाहन्छन् । ‘उहाँको स्कुलबाट निस्केको विद्यार्थी हुँ । मैले केही बिराए भने उहाँहरू असर पर्ने हो कि भन्ने डर पनि लाग्छ’, उनले भने । उनले गर्ने काम हलभित्र मात्र नभई बाहिरसम्म पनि मस्तिस्कमा आओस् भन्ने चाहन्छन् ।

‘मैले रेकर्डका लागि काम गरेको छैन । इमानदार भएर फिल्म बनाउने कोसिस गरिरहेको छ । परिपक्व कामसँगै कथामा देखियोस् भन्ने लाग्छ’, उनले भने । महापुरुषसम्म आइपुग्दा पहिलो फिल्म नै यो किन गरिनँ भन्ने प्रदीपलाई लाग्ने गरेको छ । किनकि फिल्मले मनोरञ्जनसँगै प्रभाव पनि छाड्न सक्ने, समाजलाई फरक पक्ष देखाउन सक्ने उनी बताउँछन् । फिल्म जत्तिको बुझाइ शिक्षा वा अन्य माध्यमबाट पाउन नसकिने उनले बुझेका छन् ।

अभिभावकको आँखा महापुरुष 

‘महापुरुष’ भन्दा अगाडि जात्राकै तेस्रो शृंखला ल्याउन प्रदीपलाई धेरैले सुझाएका थिएँ । किनकि त्यो ‘ब्ल्यांक चेक’ भन्दा कम थिएन । बक्स अफिसमा सफलता डिजिट छाडेर नयाँ नाम र कथालाई उनले ल्याउँदैछन् । किनकि उनलाई आफ्नो काममा अझैँ परिपक्वता देखाउनु छ । आफूलाई विश्वास गरेर हलसम्म आउने दर्शकलाई उनीहरूकै कथा देखाउनु छ । ‘यो एक्लोपनको कथा हो । हामीले हाम्रो आँखाबाट अभिभावकलाई हेर्छौं । तर उनीहरूको आँखाबाट संसार हेर्ने, इच्छा बुझ्ने काम कहिले गरेनौँ । त्यही झक्झकाउने गरी गम्भीर विषयलाई सरल रूपमा प्रस्तुत गरेका छौँ’, उनले भने ।

फिल्ममा मह जोडीसँगै गौरी मल्ल, रबिन्द्रसिंह बानियाँ, राजाराम पौडेललगायतका कलाकारको अभिनय रहेको छ । यही फिल्ममार्फत अरुण क्षेत्री र अञ्जना बराइली डेब्यु गर्दैछन् । षट्कोण आर्ट्स प्रा.लि.को ब्यानरमा निर्मित फिल्ममा कार्यकारी निर्माता बानियाँ हुन् भने निर्माता दिपेश खत्री छन् । षट्कोण आर्ट्सले यसअघि टलकजङ भर्सेस टुल्के, जात्रा र जात्रैजात्रा फिल्म निर्माण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्