Logo

भक्तपुरका उद्योमी व्यवसायी चर्काे ब्याजदरका विरुद्ध एकजुट


४ कात्तिक ०७९, भक्तपुर । बैंक तथा वित्तीय संस्थाले असुल्दै आएको चर्काे ब्याजदरका विरुद्धमा भक्तपुरका उद्यमी व्यवसायी एकजुट भएका छन् । उनीहरूले आज जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई छ बुँदे मागसहित ज्ञापनपत्र बुझाएका छन् ।
ज्ञापनपत्रमा बैंक तथा वित्तीय संस्थाले निक्षेपमा ब्याजदर बढाए पनि निक्षेप बढन नसकेको यथार्थ तर कर्जाको ब्याज बढेर यसबाट बजारमा नकारात्मक असर परिरहेको मौजुदा वास्तविकता र विगतको अनुभवलाई मनन गर्दै ब्याजदरलाई वाञ्छित सीमाभित्र राख्नुपर्ने नीति अवलम्बनका लागि व्यवसायीबाट माग गरिएको छ ।
यसैगरी बैंक तथा वित्तीय संस्थाहरूले हाल विद्यमान स्प्रेडदरलाई घटाउने एवं कर्जाको आधार दरमा न्यूनतम प्रतिशत मात्रै प्रिमियम थप गर्ने व्यवस्था लागू हुनुपर्ने र बैंक तथा वित्तीय संस्थाहरूले गर्ने गरेको खर्चमा नियन्त्रण गरी आधार दर घटाउन सकिने अवस्था रहेकोतर्फ पनि व्यवसायीले ध्यानाकर्षण गराएका छन् ।
नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकलाई ऋण प्रवाह गर्दा विगतमा भन्दा हाल ब्याजदरमा वृद्धि भएको हुँदा विगतकै प्रतिशतमा ऋण प्रवाह हुनुपर्नेतर्फ पनि ध्यानाकर्षण गराइएको छ । हाल मुलुकको असहज परिस्थितिका कारण ऋणको साँवा ब्याज भुक्तानी अवधिमा थप समय उपलब्ध गराउने व्यवस्थाका लागि केन्द्रीय बंैकबाट पहल हुनुपर्ने तर्फबाट पनि व्यवसायीको माग रहेको छ ।

मौजुदा परिवेशबाट सिर्जित चरम मूल्य वृद्धि र उद्योग व्यवसाय धमाधम धरासायी बन्दै गएको चुनौतीपूर्ण अवस्थाबाट मुलुकलाई बचाउन केन्द्रीय बैंक र सरकार दुवैबाट भरमग्दुर प्रयास हुनुपर्नेतर्फ पनि व्यवसायीले ध्यानाकर्षण गराएका छन् ।
भक्तपुर चेम्बर अफ कमर्सको संयोजनमा ज्ञापनपत्र बुझाउन भक्तपुर नगर चेम्बर, चाँगुनारायण नगर चेम्बर, मध्यपुर थिमि नगर चेम्बर, सूर्यविनायक नगर चेम्बर, भक्तपुर घरेलु तथा साना उद्योग सङ्घ, भक्तपुर विद्युतीय सामग्री व्यवसायी सङ्घ, भक्तपुर पार्टी प्यालेस तथा क्याटरिङ सङ्घ, नेपाल औषधि व्यवसायी सङ्घ भक्तपुर जिल्ला समिति, भक्तपुर वन पैदावार उद्योग व्यवसायी सङ्घका प्रतिनिधिको जिल्ला प्रशासन कार्यालय पुगेका छन् । ज्ञापनपत्र भक्तपुर चेम्बर अफ कमर्सका उपाध्यक्ष कविदास श्रेष्ठले प्रजिअ शर्मालाई हस्तान्तरण गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्