Logo

काठमाडौं महानगरसँग युनेस्कोले भन्यो,‘रचनात्मक शहरमा बनाउनुस्,’ उपप्रमुख डंगोलले भनिन्,‘साँस्कृतिक शहर बनाउछौं’


५ कात्तिक ०७९, काठमाडौँ । नेपालस्थित संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) का नेपाल प्रतिनिधि माइकल क्रफ्टले काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डंगोलसँग भेट गरेर क्रिएटिभ सिटीजमा आवद्धताका लागि अनुरोध गरेका छन् । उपप्रमुखसँगको भेटका लागि आउनु भएका माइकलले शक्रबार महानगरको सभा कक्षमा उपप्रमुखलाई भेट गरेका हुन् ।
भेटका क्रममा रचनात्मक सहरहरुमा काठमाडौँ विशेषताका विषयमा कुराकानी भएको थियो । यसलाई रचनात्मक सहरको सदस्यका रुपमा देख्न सकिने, रचनात्मक उद्योगमा अन्तरराष्ट्रिय साझेदारी स्थापनाको अवसर लिने विषय भेटको मुख्य विषय थियो ।
भेटका क्रममा उपप्रमुख डंगोलले भनिन्, ‘काठमाडौँको जात्रा, पर्व र यससँग सम्बन्धित खानपानले संस्कार र सामाजिक जीवनसँगै बिज्ञान, स्वास्थ्य र वातावरणीय सम्बन्धको प्रतिनिधित्व गर्छ । काठमाडौँ सांस्कृतिक सहर हो । यसको गरिमा प्रवर्धन गर्ने विषयलाई हामीले नीति बनाएका छौँ । यसअनुसार अगाडि बढ्छौँ ।’
भन्नु पर्ने, सुनाउनु पर्ने र बाँड्नु पर्ने धेरै कुरा रहेको काठमाडौँसँग उपमेयर डंगोलको भनाइ थियो ।
काठमाडौँ यस अघि नै रचनात्मक सहर हो । यससँग त्यस्ता धेरै विशेषता छन् । कुराकानीका क्रममा माइकलले भने, ‘काठमाडौँसँग सम्बन्धित रुचीकर कथाहरु धेरै छन् । ती कथा सुनाउनु पर्छ । यसले सहरको रचनात्मकतालाई बढाउँछ ।’
फरक दृष्टिकोण, अर्थव्यवस्था र संस्कृति भएका भिन्न भिन्न सहरलाईलाई रचनात्मक सहरको सञ्जालमा जोडेर विकासको साझा दृष्टिकोणको अपेक्षा गरिएको छ । एउटा रचनात्मक सहरमा समावेशी समाज, सृजनात्मक अर्थतन्त्र, मानव विकास, सामाजिक सद्भाव, प्राविधिक आविष्कार, वैज्ञानिक विकास दृष्टिकोण जस्ता विषय चलायमान हुन्छन् ।
रचनात्मक सहरका लागि युनेस्कोले ७ वटा विषय दिएको छ । यीमध्ये सञ्जालमा जोडिन चाहने सहरले शिल्प तथा लोककला, संगीत, चलचित्र, साहित्य, ग्यास्ट्रोनमी, मिडिया कला र डिजाइनमध्ये कुनै एउटा विषय छान्नुपर्छ ।
यसबाट सहरहरुलाई अन्तरराष्ट्रिय सहयोग बलियो हुने, विकास योजना तथा नीतिमा संस्कृति एकीकृत हुने, सांस्कृतिक र रचनात्मक उद्योगलाई बलियो बनाउने उद्देश्य राखिएको छ ।
अहिले यस सञ्जालमा विश्वभरका २४६ वटा सहर जोडिएका छन् । यसमा संस्कृति र रचनात्मकतालाई दिगो सहरी विकासको रणनीतिका रुपमा लिने गरिन्छ ।
उपत्यकाका काठमाडौँसहित ललितपुर महानगरपालिका र भक्तपुर नगरपालिका यसमा आवद्ध हुने युनेस्कोको अपेक्षा छ ।
दक्षिण एशियाली मुलुकहरुमध्ये भारतको जयपुर र श्रीनगर शिल्प र लोक कलाको सहर, वाराणसी र चेन्नई संगीतको सहर, लाहोर साहित्यको सहर र मुम्बई चलचित्रको सहरका रुपमा विकास हुँदैछन् ।
यसमा आवद्ध हुन पालिकाबाट निर्णय हुन जरुरी हुन्छ । निर्णयपछि व्यवस्थापन केन्द्र स्थापना गर्नु, सरोकारवालाको पहिचान गर्नु, सरोकारवालाविच परामर्श समूह बनाउनु, विषय र रचनात्मक सम्पत्तिको म्यापिङ् तयार गर्नुजस्ता काम गर्नुपर्छ ।
यसपछि ४ बर्षे कार्ययोजना र रणनीतिको मस्यौदा तयार पार्नुपर्छ । विषयसँग सम्बन्धित राष्ट्रिय व्यवसायिक संघहरुबाट समर्थन प्राप्त गरेपछि यो प्रस्ताव युनेस्कोको राष्ट्रिय आयोगबाट अनुमोदन हुन्छ ।
भेटका क्रममा महानगरको सम्पदा तथा पर्यटन विभागका प्रमुख अर्चना श्रेष्ठ, उपनिर्देशक सृजु प्रधानसहित , युनेस्कोका संस्कृति एकाईका संस्कृति र रचनात्मक उद्योगका संयोजक सरोज कुसुवहालगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्