Logo

नयाँ भाँडा किनेर मनाइयो धनतेरस

बुटवल उपमहानगरपालिका वडा.न.५ स्थित अमरपथको भाडा पसलमा शनिबार धनतेरसको दिन सामान खरिद गर्दै ग्राहकहरु । लेन्स : सुमित्रा अधिकारी

६ कात्तिक ०७९, काठमाडौं । यसैगरी कार्तिक कृष्ण त्रयोदशीकै दिन मनाइने धनतेरस पर्व शनिबार सुन, चाँदी, तामा आदि धातुका नयाँ भाँडा कुँडा किनेर ल्याई घरमा राखी मनाइएको छ । यसैगरी आज धनका रक्षक देवता कुबेरको जयन्तीका अवसरमा कुबेरको विशेष पूजा आराधना पनि गरिएको छ । केहीले आज कुबेरको पूजा गरेपनि कुल परम्पराअनुसार कसैले भने लक्ष्मीपूजाकै दिन गर्छन् ।
आजको दिन ल्याइएको भाँडाकुँडामा कार्तिक कृष्ण औँसीका दिन लक्ष्मीपूजा गरिन्छ । यसरी पूजा आराधना गरेमा लक्ष्मी स्थिर भई बस्छिन् भन्ने वैदिक सनातन हिन्दू धर्मावलम्बीको परम्परादेखिको विश्वास छ । धनतेरसका दिन सुन चाँदीको गहना किनेर ल्याउने प्रचलनसमेत छ । धार्मिक विश्वासकै कारण आज भाँडाकुँडा एवं गरगहना किन्नेको भीड लाग्ने गर्छ ।
आजको दिनलाई धन त्रयोदशी, भाण्ड त्रयोदशी जस्ता नामले समेत चिनिन्छ । आजका दिन नयाँ भाँडा किनेमा लक्ष्मीले सधैँ घरमा बास गर्छिन् भन्ने धार्मिक विश्वास छ । यस विश्वासका आधारमा भाँडा पसलमा बिहानैदेखि ग्राहकको भीड लागेको थियो । भाँडा पसलमा एक साताअघिदेखि नै तामा, पित्तल लगायत धातुका भाँडा आकर्षक रुपमा साज सज्जा गरी राख्ने गरिन्छ । नयाँ भाँडा एवं गरगहना किन्ने क्रम लक्ष्मीपूजाका दिनसम्म जारी रहन्छ ।

यमपञ्चक सुरु, घर घरमा यमदीपदान
कार्तिक कृष्ण त्रयोदशीको साँझ शनिबार यमदीपदान सुरु गरेसँगै यस वर्षको तिहार अर्थात् यमपञ्चक आरम्भ भएको छ ।
कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यमयातना भोग्नु नपरोस् भनी यमदीपदान गरिन्छ । यमदीपदान परिवार सदस्य सङ्ख्याका आधारमा प्रत्येकको छुट्टछुट्टै दिनुपर्ने धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताएका छन् । यमदीपदान सुरु भएसँगै शनिबारैदेखि घर, व्यापारिक प्रतिष्ठानलगायत स्थानमा दीपावली गरिएको छ । तिहारलाई दीपको पर्व पनि भनिन्छ । यो नेपालीको दोस्रो ठूलो चाड हो ।
यमदीपदान गरी आज सुरु भएको तिहारको दोस्रो दिन आइतबार कागको पूजा गरी मीठा, मीठा कुरा खाना खान दिइन्छ । सोमबार बिहान जलाशय, नदी, कुवामा गई स्नानसहित बत्ती बालेर बगाइन्छ । यसलाई नरक चतुर्दशी पनि भनिन्छ । यसै दिन बेलुकी लक्ष्मीपूजा गरिन्छ । चौँथो दिन मंगलबार गाईको पूजा गरिन्छ । चौथो दिन बुधबार गोवद्र्धनपूजा, बलीपूजा, हलितिहार, गोरुको समेत पूजा गरेर मनाइन्छ । पाँचौँ दिन बिहीबार दिदी बहिनीले दाजुभाइलाई टीका लगाएपछि पाँच दिन लामो तिहार पर्व समापन हुन्छ ।

प्रतिक्रिया दिनुहोस्