Logo

हरिबंश आचार्यको एक्लोपनको कथामा ‘महापुरुष’


११ कात्तिक ०७९, काठमाडौं । चलचित्र ‘महापुरुष’ आज शुक्रबारबाट प्रदर्शन भएको छ । एकल प्रदर्शनमा आएको फिल्मलाई जात्रा, शत्रु गते र जात्रै जात्रा निर्देशन गरेर दर्शक र समीक्षकको मन जितेका निर्देशक प्रदीप भट्टराईले लेखन र निर्देशन गरेका छन् । सार्वजनिक प्रदर्शन अगावै यसको काठमाडौँमा वल्र्ड प्रिमियर र उपत्यकाबाहिर चितवन र इटहरीमा मोफसल प्रिमियर भइसकेको छ । मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्र सिंह बानियाँ, शिरु विष्टसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अन्जना बराइली मुख्य भूमिकामा रहेका फिल्ममा एक्लोपनको विषयवस्तु देखाइएको छ ।
फिल्म आदर्शनगर भन्ने समाजबाट सुरु हुन्छ । जहाँ देखिँदा सबै आदर्शवादी छन् । अन्यले पनि त्यहाँको सभ्य समाजको चर्चा गर्ने गरेका छन् । फिल्ममा बालकृष्ण केसी (हरिवंश)ले अवकाशप्राप्त शिक्षकको भूमिका निर्वाह गरेका छन् । उनकी श्रीमतीको देहान्त भइसकेको छ भने दुई छोरा छन् । जेठो छोरा विदुर केसी (रवीन्द्र) आफ्नी श्रीमती र बच्चासँग छुट्टै बस्छन् । कान्छो छोरा विज्ञान (अरुण) भने स्वदेशमा केही नभएपछि अष्ट्रेलिया जान कोसिस गरिरहेका छन् ।
आदर्शनगरमा केही वृद्धहरू पनि छन् । यद्यपि बाहिर सुखी देखिए पनि मनभित्र खुसी छैनन् । आफ्नो सन्तानको खुसीकै लागि उनीहरू बाँचेर बसिरहेका छन् । चलचित्रको कथालाई बालकृष्णकै माध्यमबाट भनिएको छ । उनलाई समाजले ‘महापुरुष’ भन्छन् । विज्ञान अष्ट्रेलिया जानलाई केही उपाय नलागेपछि प्रतिष्ठा (अन्जना)सँग डिपेन्डेन्टमा जान तयार हुन्छन् । यद्यपि प्रतिष्ठा भने वास्तविक बिहे गरेर नै जाने योजनामा छिन् । उनीहरूको भेट कन्सल्टेन्सीमार्फत भेट हुन्छ । प्रतिष्ठाको पिता मदनकृष्ण र आमा कोपिला पनि विज्ञानलाई देखेपछि विवाह गर्न तयार हुन्छन् ।
सम्धी एक्लै र आदर्शनगरमा बसोबास रहेको थाहा पाएपछि मदनकृष्णले ‘महापुरुष’ कै उपाधिसमेत दिन्छन् । तर बाहिरबाट जति सुखी देखिएता पनि भित्र मनबाट त्यति नै एक्लो हुन्छन् बालकृष्ण । घरमा कुरा गर्नेसमेत कोही नभएपछि उनले सुगासँग आफ्नो मनको कुरा गर्ने गरेका छन् । श्रीमती छैनन् । एउटा छोरा श्रीमतीसँग अलग्गै बस्ने र कान्छो छोरा अष्ट्रेलिया जने भएपछि झनै एक्लो महसुस गर्छन् । यहीँ कारण उनी बिरामी पर्छन् । डाक्टरले बाहिर घुमघाम गराउन र व्यस्त बनाउन आग्रह गरेपछि छिमेकी बाबुराम (राजाराम)सँग छोराहरूले नाटक हेर्न पठाउँछन् ।
त्यहाँ हरिवंशको भेट फुलमाया (गौरी)सँग हुन्छ । विस्तारै उनीहरू नजिकिन्छन् । बुबाको विवाहको कारणले आफ्नो विवाह नहुने र अष्ट्रेलिया जान नपाउने थाहा पाएपछि विज्ञान झनै दुईलाई छुट्याउन लाग्छन् । त्यसले घटाउने विविध घटनाक्रमले बालकृष्णले फुलमायाले घरमै ल्याउछन् । त्यसपछि कथामा द्वन्द्वको सुरुआत हुन्छ । बालकृष्ण र फुलमायको विवाह होला त ? आदर्शनगरले त्यो सम्बन्धलाई कसरी लेला ? विवाह गरेर अष्ट्रेलिया जाने तयारीमा रहेका विज्ञानले आफ्नो सट्टा बुबाको विवाह गराउनु होला ? यी सब प्रश्नको जवाफ फिल्म हेरेपछि पाइन्छ ।
“हामीले एक्लो अभिभावकको कथालाई सरल प्रस्तुतिमार्फत फिल्ममा भनेका छौँ । यसले भरिपूर्ण मनोरञ्जन दिन्छ नै साथी हलबाहिर आउँदासम्म प्रभाव पार्छ भन्ने विश्वास छ”, निर्देशक भट्टराईले भने । अघिल्लो फिल्महरूमार्फत प्राप्त गरेको विश्वासलाई घट्न नदिने कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँले जानकारी दिए । “फिल्म हेर्दाको समय र पैसा खेर जाँदैन । हामीले विश्वास बढाउने काम गरेका छौँ । दर्शकले मनोरँजनसँगै हाम्रो समाजको छुट्टै रुप देख्न पाउनुहुनेछ”, कार्यकारी निर्माता बानियाँले भने । षट्कोण आर्टस प्रालिको ब्यानारमा फिल्मलाई दीपेश खत्रीले निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्