Logo

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाले दिए छठको शुभकामना सन्देश


१३ कात्तिक ०७९,काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री देशरबहादुर देउवाले छठ पर्वको शुभकामना दिएका छन् ।
राष्ट्रपति भण्डारीले आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई गाढा बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छिन् ।
छठपर्व, २०७९ का अवसरमा आज शुभकामना सन्देश दिदै उनले प्रकृतिको पूजा गरिने छठपर्वका माध्यमबाट भौगोलिक, सामाजिक तथा सांस्कृतिक विविधतायुक्त नेपालमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना बलियो हुने विश्वास व्यक्त गरेकी छिन् ।
राष्टपति भण्डारीले सन्देशमा भनेकी छिन्, “छठपर्वले समाजमा विद्यमान जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद र विसङ्गतिको अन्त्य गरी न्यायूर्ण, समतामूलक, सभ्य र सुसंस्कृत समाजको निर्माणका लागि अग्रसर हुन हामी सबैलाई प्रेरणा प्रदान गरोस् भनी कामना गर्दछु ।”
राष्ट्रपति भण्डारीले छठको पावन अवसरमा विश्वभर रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेकी हुन् ।
खासगरी नेपालको तराई तथा मधेस क्षेत्रमा मनाइने छठपर्व हाल आएर काठमाडौँ उपत्यकालगायत अन्य पहाडी तथा हिमाली जिल्लामा समेत सूर्य देवता र छठीमाताको पूजा अर्चना गर्दै श्रद्धा एवं भक्तिपूर्वक मनाउन थालिएको राष्ट्रपति भण्डारीले सन्देशमा उल्लेख गरेकी छिन् ।
छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास रहेको छ । बिनाभेदभाव सम्पूर्ण प्रणालीलाई समान शक्ति, ताप र प्रकाश दिने सूर्यको महिमालाई आत्मसात् गर्दै तन र मन लगाएर कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीका दिनसम्म नदी, तालतलैया वा पोखरीको किनारमा अस्ताउँदो र उदाउँदो सूर्यको किरणलाई दूधको अध्र्य दिएर छठपर्व मनाइन्छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले तराई मधेसलगायत मुलुकका विभिन्न भागमा मनाइने छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, सु–स्वास्थ्य, दीर्घायुको कामनासहित शुभकामना व्यक्त गरेका छन् ।
शुभकामना सन्देशमार्फत प्रधानमन्त्री देउवाले यस पर्वले नेपाली समाजमा सांस्कृतिक एकताको भावना वृद्धि गर्नसमेत मद्दत पुगेको उल्लेख गरेका छन् ।
प्रधानमन्त्री देउवाले छठ नेपाली समाजमा शान्ति, सद्भाव र पवित्रता प्रवद्र्धन गर्ने धार्मिक एवं सांस्कृतिक पर्वको रूपमा प्रसिद्ध रहेको उल्लेख गरे । विगतमा विशेषगरी तराई÷मधेसमा मनाइने यो पर्व हाल नेपालको एक विशिष्ट पहिचानसहितको साझा सांस्कृतिक पर्वको रूपमा नेपालभर विस्तार भएको उल्लेख गर्दै उनले हाम्रा सांस्कृतिक पर्व र संस्कार समाजका अमूल्य गहना भएको उल्लेख गरेका छन् ।
प्रधानमन्त्री देउवाले यी पर्व तथा संस्कृतिले हाम्रो समाजलाई स्वच्छ र पवित्र राख्न, एकापसमा सद्भाव र सहिष्णुता बढाउन, विविधताभित्र एकता कायम गर्न तथा समाजलाई गतिशील र जीवन्त तुल्याउन सहयोग पु¥याउँदै आएका बताएका छन् । कोभिड १९ र डेङ्गी जस्ता रोगको जोखिम कायमै रहेको सन्दर्भमा जनस्वास्थ्यका न्यूनतम मापदण्डको पालना गर्दै यस वर्षको छठ पर्व हर्षोल्लासपूर्वक मनाउन उनले सबैमा आग्रह गरेका छन् ।
प्रधानमन्त्री देउवाले छठ पर्वले सबैमा सांस्कृतिक सद्भाव, सहअस्तित्व, एकता र पारस्परिक सहिष्णुताको भावनालाई अझ प्रगाढ र सुदृढ तुल्याउन प्रेरणा प्रदान गरोस् भन्दै सबैमा शुभकामना व्यक्त गरे ।

 

प्रतिक्रिया दिनुहोस्