Logo

सम्बन्ध विच्छेदपछि पूर्वपतिको किरिया

©lalitpurkhabar.comshyam phuyal

१४ कात्ति ०७९,मेचीनगर । मेचीनगर नगरपालिका ७ की सीता खड्काले सम्बन्ध विच्छेदपछि पुर्व पतिको काजकिरिया गरेकी छिन् ।
उनका पति भानुभक्त बस्नेतको ४८ वर्षको अल्पायुमै वैदेशिक रोजगारीको क्रममा संयुक्त अरब इमिरेट्सको दुबईमा गत असोज ८ गते मृत्यु भएको थियो । गत असोज २९ गते बस्नेतको शव मेचीनगर १४ दुहागढीस्थित साहिँला भाइको घरमा आइपुगेको थियो । सोही दिन कनकाई आर्यघाटमा उनको दाहसंस्कार भएको थियो ।
पूर्वपतिलाई अन्तिम श्रद्धाञ्जली दिन सात वर्षीय छोरा प्रतिश बस्नेत र १६ वर्षीया छोरी जेनिशा बस्नेतलाई साथमा लिएर खड्का आर्यघाटमा गएकी थिइन् । त्यसपछि उनी छोराछोरीसँगै मेचीनगर ७ इट्टाँभट्टास्थित आफ्नै निवासमा १३ दिने काजकिरिया बारेर बसिन् । दुई दिनअघि १३ दिने काजकिरिया पूरा गरेकी खड्काले कागजी सम्बन्ध विच्छेदले पतिप्रतिको माया र श्रद्धा कहिल्यै नघटेको बताइन् । उनले आफू सम्बन्ध विच्छेदको पक्षमा कहिल्यै नरहेको तर पतिकै जोडबलमा सम्बन्ध विच्छेदको कागजमा सहीछाप गरिदिएको जानकारी दिइन् ।

एक वर्षअघि सम्बन्ध विच्छेद गरेपश्चात बस्नेतले दोस्रो विवाह गरे पनि दोस्री पत्नीले केही महिनामै छाडेर हिँडेकी थिइन् । “मदिराको कुलतमा लागेर उहाँले मलाई कुटपिट गर्नुहुन्थ्यो, तै पनि म कहिल्यै सम्बन्ध विच्छेदको पक्षमा थिइन”, खड्काले भनिन्, “कान्छीले पनि केही महिनामै छाडेर हिँडेपछि उनी मेरो माइती घरमा बारम्बार आइरहनुहुन्थ्यो । मैले उहाँलाई सुध्रिएर आउनुहोस्, सँगै बसौँला भन्ने गरेको थिएँ ।”
यसैबीच वैदेशिक रोजगारीका लागि बस्नेत दुबई गए । असोज ८ गते उनले आत्महत्या गरेको दुःखद् खबर आएको थियो । पूर्वपति बस्नेतको मृत्यु भएपछि खड्काले आफूले पालनपोषण गर्दै आएका छोराछोरीसँगै साइला देबरको घरमा बसेर काजकिरिया बार्ने सोच बनाए पनि देबर, देउरानी र नन्दहरूले दिएनन् ।
“झगडा हुने भएपछि आफन्तहरुको सल्लाह बमोजिम म, छोरा र छोरीले अलग्गै किरिया बार्ने काम ग¥यौँ, साइला देवरले अलग्गै बार्नुभयो”, खड्काले भनिन्, “ऐले डिभोर्स दे, भरे डिभोर्स दे भनेर हैरान पारेपछि मैले दिक्कर उहाँ (पूर्वपति)ले ल्याएको कागजमा सहीछाप गरेकी हुँ । मेरो मनभित्र श्रीमानप्रति पहिले जत्तिकै आस्था, श्रद्धा र माया थियो ।”

उनीहरुको छोरा प्रतिश कक्षा २ मा र छोरी जेनिशा कक्षा १० मा पढिरहेका छन् । सम्बन्ध विच्छेदपश्चात छोराछोरीको लालनपालन खड्का (आमा)ले नै गरिरहेकी छिन् । पूर्वपतिको १३ दिने काजकिरिया हिन्दू धार्मिक विधि र परम्परा बमोजिम गरेकी खड्कालाई आफन्त र छरछिमेकीले धन्यवाद दिने गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्