Logo

काठमाडौँ क्षेत्र नं ६ मा भिमसेनदास र सर्वेन्द्रको कडा प्रतिस्पर्धा


१६ कात्तिक ०७९, काठमाडौँ । काठमाडौँ क्षेत्र नं ६ को प्रतिनिधिसभा निर्वाचनका लागि भिमसेनदास प्रधान र सर्वेन्द्र खनालको कडा प्रतिस्पर्धा हुने अवस्था देखिएको छ ।
यहाँ प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा नयाँ र पुराना उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा छ ।
आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसका भीमसेनदास प्रधान र नेकपा (एमाले)बाट सर्वेन्द्र खनाल चुनावी मैदानमा छन् । उक्त क्षेत्रमा प्रधान दुईपटक सांसदमा निर्वाचित उम्मेदवार हुन् । खनाल भने पहिलोपटक उक्त क्षेत्रबाट प्रतिस्पर्धा गर्दै छन् ।
काठमाडौँको बागबजार, पुरानो बसपार्क, कमलादी, असन, ठमेल, लैनचौर, गल्कोपाखा, सामाखुशी, नयाँ बसपार्क, गोँगबु, बानियाँटार, काभ्रेस्थली, धर्मस्थली, मनमैजु, साङ्ला, झोरलगायतका क्षेत्र रहेको सो क्षेत्रमा ६२ हजार एक सय दुई मतदाता छन् । क्षेत्र नं ६ ‘क’मा कांग्रेसबाट हरिप्रभा श्रेष्ठ ‘खड्गी’ र (ख) मा विष्णुभक्त तिमल्सिना उम्मेदवार बनेका छन् । एमालेबाट क्षेत्र नं ६ ‘क’ मा निरेशलालसिंह महर्जन र ‘ख’ मा अमनकुमार मास्के उम्मेदवार बनेका छन् ।
को को छन् अरु उम्मेद्वार
प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका प्रधान र एमालेका खनालबाहेक विवेकशील साझा पार्टीका अजित खड्का, मौलिक जरोकिलो पार्टीका कमल न्यौपाने, एकीकृत शक्ति नेपालका काजी कार्की, राष्ट्रिय जनमुक्ति पार्टीका तारा रसाइली, जनता समाज पार्टी नेपालका मनोज आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका महेश्वर कार्की, हाम्रो नेपाल पार्टीका मुकुन्द सिलवाल, नेपाल आमा पार्टीका राजेन्द्र खनाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका विष्णुप्रसाद आचार्य, राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल र नेपाल मजदुर पार्टीका सनकमान महर्जनले उम्मेदवारी दिएका छन् ।
यस्तै प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवार किरण इङनाम, खगेन्द्र ढकाल, जनकराज थपलिया, दिपु उप्रेती, निर्देश सिलवाल, प्रेमसागर कर्माचार्य, बलबहादुर केसी, विष्णुप्रसाद ढकाल, राजेश श्रेष्ठ (मास्के), सञ्जयमान श्रेष्ठ र सानुकान्छा महर्जनले उम्मेदवारी दिएका छन् ।
यस्तै प्रदेशसभा (क)मा कांग्रेसकी खड्गी, एमालेका महर्जनसहित मौलिक जरोकिलो पार्टीकी कल्पना ओझा, जनता समाजवादी पार्टीका गणेश शाक्य, राष्ट्रिय प्रजातन्त्र पार्टीका जगतसागर महर्जन, नेपाल मजदुर किसान पार्टीका देवलक्ष्मी महर्जन, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका बुद्धकाजी महर्जन, नेकपा (माओवादी केन्द्र)का रवीन्द्र श्रेष्ठ र स्वतन्त्र उम्मेदवार सरिता कामी र योगेन्द्र खतिवडाले उम्मेदवारी दिएका छन् ।
प्रदेशसभा (ख)मा कांग्रेसका तिमल्सिना, एमालेका मास्के, नेकपा (माओवादी केन्द्र)का प्रकाश फुँयाल, नेकपा (एकीकृत समाजवादी)का कृष्णबहादुर खड्का, राष्ट्रिय प्रजातन्त्र पार्टीका चिरागमानसिंह कुँवर, जनता समाजवादी पार्टीका धनरुजी बुढा, मौलिक जरोकिलो पार्टीका बासु उप्रेती, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका रिजन रम्तेल र नेपाल मजदुर किसान पार्टीका श्यामकृष्ण महर्जनले उम्मेदवारी दिएका छन् ।
यस्तै प्रदेशसभा (ख)मा स्वतन्त्र उम्मेदवार सपना सिंखडा, भरत शर्मा, बबिन्द्रकुमार कार्की, प्रमेश श्रेष्ठ, ख्यामनारायण पङ्गाली र अरुण महर्जनले उम्मेदवारी दिएका छन् ।
के भन्छन् उम्मेदवार
कांग्रेसको तर्फबाट प्रतिनिधिसभामा उम्मेदवारी दिनुभएका प्रधान काठमाडौँ क्षेत्र नं ६ को संस्कृति, सम्पदा, संस्कार र परम्परा जगेर्ना आफ्नो मुख्य प्राथमिकता भएको बताउछन् । “नेवारी संस्कृतिको संरक्षण गर्दै नैतिक शिक्षामा आधारित प्राविधिक शिक्षालाई जोड दिने मेरो प्रमुख एजेन्डा हो”, उनी भन्छन् । उनी विगत १० वर्षमा काठमाडौँ क्षेत्र नं १० को विकासमा आफूले महत्वपूर्ण काम गरेकाले आगामी दिनमा उक्त कामलाई पूरा गर्ने आफ्नो चाहना रहेको बताउछन् ।
एमालेका तर्फबाट प्रतिनिधिसभामा उम्मेवारी दिनुभएका खनाल काठमाडौँ क्षेत्र नं ६ लाई आफूले नमूना क्षेत्रका रूपमा विकास गर्ने बताउछन् । उनी क्षेत्र नं ६ भित्रको संस्कृति तथा सम्पदाको संरक्षण गर्दै पर्यटन प्रवद्र्धनमार्फत ६ नं क्षेत्रको विकास गर्ने आफ्नो प्रमुख योजना रहेको बताउछन् ।
“सहरी क्षेत्रमा संस्कृति तथा सम्पदाको संरक्षण, बस्ती क्षेत्रमा खानेपानी, ढल र विद्युत्को समस्या समाधान र काठक्षेत्रमा कृषि र घरेलु उद्योगको विकास गर्नु मेरो प्रमुख योजना हो”, खनाल भन्छन् । काठमाडौँ क्षेत्र नं ६ भित्रका खोलानालाको संरक्षण गर्दै करिडोर निर्माण गरी ट्राफिक व्यवस्थापनमा समेत नमूना बनाउने आफ्नो लक्ष्य रहेको उनको भनाइ छ ।
काठमाडौँको बागबजारबाट नुवाकोटसम्म छोएको उक्त क्षेत्रमा ३२ मतदान केन्द्र र ७५ मतदानस्थल छन् । काठमाडौँ क्षेत्र नं ६ का निर्वाचन अधिकृत सम्झना खनाल सबै मतदान केन्द्र र मतदानस्थलको अनुगमन भइसकेको बताउछन् । यस्तै मतदानका लागि निर्वाचन कार्यालयमा समानुपातिक मतपत्र, ब्यालेट बक्सलगायतका सामग्री आइसकेको उनको भनाइ छ ।
उक्त निर्वाचन कार्यालयमा आचारसंहिता उलङ्घनको उजुरी मौखिकरूपमा आए पनि लिखितरूपमा भने कुनै नआएको निर्वाचन अधिकृत खनाल बताउछन् । यस्तै मतदाता शिक्षाका लागि भने निर्वाचन कार्यालयले स्थानीय तहका कर्मचारीलाई जिम्मेवारी दिएको छ । काठमाडौँ क्षेत्र नं ६ मा काठमाडौँ महानगरपालिकाको वडा नं २६, २७ र २८, टोखा नगरपालिकाको वडा नं १, ८, ९, १० र ११ साथै तारकेश्वर नगरपालिकाको वडा नं १, २, ६, ७, ८, ९, १० र ११ वडा पर्छन् ।

 

प्रतिक्रिया दिनुहोस्