Logo

निर्वाचन बिथोल्नका लागि देशभर २३ वटा समूह सक्रिय : गृह मन्त्रालय

१९ कात्तिक ०७९, काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचन बिथोल्नका लागि देशभर २३ वटा समूह सक्रिय रहेको निष्कर्ष गृह मन्त्रालयले निकालेको छ । मोरङको विराटनगरमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले उक्त जानकारी दिएका हुन् ।

निर्वाचनका लागि सम्पूर्ण सुरक्षा तयारी पूरा भइसकेको जानकारी दिँदै प्रवक्ता पोखरेलले ५–७ जना रहेको समूहदेखि धेरै संख्या रहेको समूहहरु निर्वाचन बिथोल्न सक्रिय रहेको जानकारी दिएका हुन् ।

उनले निर्वाचन विरोधी गतिविधि गर्ने समूहलाई नियन्त्रणमा लिएर उनीहरुका गतिविधि रोक्न जिल्ला तहका सुरक्षा निकायले विशेष ध्यान दिने पनि बताए ।

निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष रूपमा सम्पन्न गर्न विशेष सुरक्षा योजना बनाएर लागू गरिएको भन्दै उनले निर्वाचनमा खटिने कर्मचारी, उम्मेदवार, मतदाता, निर्वाचन सामग्री सबैको सुरक्षा सरकारको प्राथमिकतामा रहेको पनि स्पष्ट पारे ।

मतदानका दिन ३ घेराको सुरक्षा प्रबन्ध गरिने जानकारी दिँदै उनले पहिलो घेरामा नेपाल तथा म्यादी प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रोमा नेपाली सेनालाई परिचालन गरिने बताए । निर्वाचन सुरक्षाका लागि म्यादीसहित २ लाख ९८ हजार ५ सय सुरक्षाकर्मी परिचालन हुने जानकारी पनि उनले दिए ।

प्रतिक्रिया दिनुहोस्