Logo

स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराइनेछ – निर्वाचन आयुक्त भण्डारी


२१ कात्तिक ०७९, काठमाडौं ।  निर्वाचन आचारसंहिताको पूर्ण पालना गराई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउनका लागि सम्पूर्ण तागत लगाएको निर्वाचन आयोगले बताएको छ । पूर्वप्रमुख निर्वाचन आयुक्तहरुसँगको छलफलका क्रममा निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनको कडीको रुपमा रहेको आचारसंहिता पालना गराउने सवालमा आयोगले सम्पूर्ण ध्यान केन्द्रित गरेको बताएका छन् ।

विगतका निर्वाचनमा आचारसंहिता उल्लंघन भएको, धाँदली भएको र मतपेटीका हराएको लगायत घटनाहरुको दृष्टान्त दिंदै त्यसतर्फ सचेत हुन
पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले आयोगको ध्यानाकर्षण गराएका थिए । त्यसपछि निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिका संयोजक समेत रहेका आयुक्त भण्डारीले आचारसंहिता पालना गराउने सवालमा आयोगले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाएका छन् ।

उनले राजनैतिक दल र सरोकारवालाहरुसँगको परामर्शका आधारमा आयोगले आचारसंहिता बनाएकाले पालना गरेर सबैले इमान्दारीता देखाउनुपर्नेमा पनि जोड दिएका छन् । आचारसंहीता राजनैतिक दल, सरोकारवाला निकाय र आयोगको साझा सहमतिको दस्तावेज भएको र त्यसमा राजनैतिक दलले हस्ताक्षर गरेर पालना गर्ने प्रतिवद्धता जनाएकाले प्रतिवद्धताप्रति दलहरु पनि जिम्मेवार हुनुपर्ने उनको भनाई थियो । निर्वाचन व्यवस्थापनको विषय कठिन भएपनि आफूहरुले चुनौती नभई अवसरको रुपमा लिएको उल्लेख गर्दै आचारसंहिता लागू गर्ने कुरामा आयोग सधै निष्पक्ष र निष्ठापूर्वक उभिने उनले दाब िगरेका छन् ।

प्रतिक्रिया दिनुहोस्