Logo

गोदावरीमा रोहिज्या शरणार्थीलाई बस्न सिफारिस, वडा सदस्यहरु विरोधमा


२५ कात्तिक ०७९,गोदावरी । गोदावरी नगरपालिका वडा नं ३ का वडा अध्यक्ष सानुराजा (राज) घिमिरेले म्यानमारबाट भागेर आएका शरणार्थीलाई वडाभित्र राख्ने निर्णयमा वडा सदस्यहरुले विरोध गरेका छन् ।
वडासदस्यहरु सन्तोष कुँवर, संगिता तामाङ, दिपक लामा र सविना नेपालीले यो निर्णयको विरोध गरेका हुन् ।
वडाका चारै जना वडा सदस्यहरुले वडाअध्यक्षले दिएको सिफारिसमा छलफल नगरी गम्भीर विषयमा सिफारिस दिएकोमा प्रेस विज्ञप्तिमार्फत आपत्ति जनाएका हुन् ।


विज्ञप्तिमा स्थानीयवासी पुरुषोत्तम सिलवाल र मनिकुमार सिलवालको १० रोपनी क्षेत्रफलमा अस्थायी टहरा बनाई बसेको विषयमा सिफारिस दिदा कुनै निर्णय नगरिएको जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छ, “लोकतान्त्रिक प्रणालीको अबलम्बन गर्दै यसै क्षेत्रको जनताको अत्याधिक मत लिएर निर्वाचित भएका वडा सदस्यहरुको कुनै वैठक नराखी वडा अध्यक्षले स्वेच्छाचारी ढंगबाट राष्ट्र राष्ट्रियतामाथि नै आघात पर्ने जस्ता निर्णय गरेको प्रति हामी वडासदस्यहरुको घोर आपत्ति छ ।”
वडासदस्यहरुकाले वडाअध्यक्षको निर्णयप्रति नगरपालिकासमेतको ध्यानाकर्षण गरेका छन् । वडाअध्यक्ष घिमिरे चर्चाका लागि जुनसुकै काम गर्ने गरेको वडावासीहरुको भनाई रहेको छ ।

वडाध्यक्ष घिमिरे

गोदावरी नगरपालिका ३ का वडाध्यक्ष सानुराजा (राज) घिमिरेले म्यान्मारबाट विस्थापित भई भारत हुँदै नेपाल आएका रोहिज्या शरणार्थीलाई आफ्नो वडामा बस्न सिफारिस दिएका थिए ।
यस वडाको पुरुषोत्तम बहादुर सिलवालको ३ क कित्ता नम्बर ८७ र ८८ तथा र यसै वडाको कित्ता नं.३ क १७८, १७९ को ४ रोपनी जग्गा भाडामा लिएर बसेका शरणार्थीलाई सिफारिस गरेको पत्र सार्वजनिक भएको थियो ।
उपत्यकाको कपन क्षेत्रमा केही बर्षअघि उनीहरु आइ बसेका थिए । तर पछिल्लो समय शरणार्थीहरु उपत्यकाका विभिन्न ठाँउमा बस्न थालेका थिए । रोहिज्या शरणार्थीहरुको विस्तारै बसोबास बढ्दै गएको र उनीहरुकोको आधिकारिताको सन्दर्भमा प्रश्न उठ्न थालेको छ । उनीहरु वास्तविक शरणार्थी हुन् वा होइनन् भन्ने विषयमा समेत विवाद छ ।

प्रतिक्रिया दिनुहोस्