Logo

आम निर्वाचनः कल सेन्टरमा आएका प्रश्न र जवाफ

२५ कात्तिक ०७९, काठमाडौं ।  निर्वाचनसँग सम्बन्धित सूचनाहरू आम सर्वसाधारणसम्म पुर्‍याउन तथा मतदाता शिक्षालाई प्रभावकारी बनाउन निर्वाचन आयोगले कल सेन्टर सञ्चालन गरिरहेको छ । आयोगले सञ्चालनमा ल्याएको टोल फ्रि नं. ११०२ मा आम सर्वसाधारणले कल गरेर निर्वाचनसँग सम्बन्धित जिज्ञासाहरू राख्न सक्नेछन् । २४ घण्टा नै खुला रहने यो फोन नं. मा बिहान ९ बजेदेखि बेलुकी ७ बजेसम्म आयोगका कर्मचारीले प्रत्येक्ष फोन रिसिभ गरेर प्रश्नकर्ताको जवाफ दिनेछन् भने त्यसबाहेकको समयमा सोधिने प्रश्नहरू स्वतः रेकर्ड हुने व्यवस्था छ । जसको जवाफ पछि कर्मचारीहरूले दिने छन् । हालसम्म कलसेन्टरमा आएका विभिन्न जिज्ञासा मध्ये सबैले बुझ्नु पर्ने केही महत्वपूर्ण प्रश्न तथा जवाफहरू निम्नानुसार छन् ।

– गुल्मीमा एक शिक्षकले फेसबुकबाट उम्म्दवारको प्रचार प्रसार गरेको पाइयो यसको उजुरी कसरी कसलाई पठाउन सकिन्छ ?
[email protected][email protected][email protected] मा कुनै पनि उम्मेदवार वा दलले आचारसंहिता विपरीत गरेका कामहरूको प्रमाणका साथ इमेलमार्फत उजुरी गर्न सकिन्छ । साथै सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय, जिल्ला आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन अधिकृत वा निर्वाचन आयोगको सामाजिक सञ्जालमार्फत पनि पठाउन सकिन्छ ।

– उम्मेदवारले मतदान केन्द्रभित्र प्रवेश गरेर मतदानको तथ्यांक लिने लगायतका कार्य गर्न पाइन्छ ?
सम्बन्धित मतदान अधिकृतको अनुमतिमा के कति मतदान भयो अद्यावधिक विवरण लिन सकिन्छ ।

– म प्रहरी हुँ । उम्मेदवारलाई वा निजको प्रतिनिधिलाई मतदान केन्द्रभित्र निर्वाध रूपले प्रवेश गर्न दिन पाइन्छ ?
उम्मेदवार वा निजको प्रतिनिधिले परिचयपत्रसहित उपस्थित भएको खण्डमा सम्बन्धित मतदान अधिकृतले तोके बमोजिमको क्षेत्रसम्म अनुमति लिई प्रवेश दिन सकिन्छ । तर गोप्य स्थानमा जान दिन मिल्दैन ।

– वडाध्यक्ष आफ्नो काम छाडेर उम्मेदवारको प्रचार प्रसारमा हिँड्नुभएको छ । उजुरीको प्रक्रिया के होला ?
निर्वाचन आचारसंहिता २०७९ को व्यवस्था अनुसार जनप्रतिनिधिहरूले आफू निर्वाचत भएको पालिकाभित्र कुनै पनि उम्मेदवार वा दलको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न पाइन्न । त्यस्तो गरेको पाइएमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय, जिल्ला आचारसंहिता अनुगमन समिति वा निर्वाचन आयोगको विभिन्न सम्पर्क माध्यमबाट उजुरी गर्न सकिन्छ ।

– नागरिकता लगायतका कुनै पनि प्रमाणले भोट हाल्न पाइन्छ ?
आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपुर्जा वा सवारीचालक अनुमतिपत्रको सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाइ यकिन गरी मतदान गर्न पाउने व्यवस्था गरेको छ ।

– किरियापुत्रीहरूलाई मतदान गराउन के कस्तो व्यवस्था गरेको छ ?
मतदान अधिकृतले त्यस्ता मतदातालाई लाइनमा नबसी प्राथमिकताका साथ मतदान गराउनु पर्ने व्यवस्था छ ।

– चुनाव प्रचारप्रसार दैनिक रुपमा गर्दा कुन समयभित्र गर्न पाइन्छ ?
बिहान ७ः०० देखि बेलुकी ७ः०० बजेसम्म ।

– छैटौँ तहको कर्मचारीलाई मतदान अधिकृत र सातौँ तहकोलाई सहायक मतदान अधिकृतमा राखेकोमा के गर्न सकिन्छ ?
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य जनशक्ति व्यवस्थापन निर्देशिका २०७९ को दफा १० को खण्ड (क)मा गाउँपालिका क्षेत्रभित्रको मतदान केन्द्रमा सामान्यतया राजपत्रांकित तृतीय श्रेणी वा सो सरहको कर्मचारी वा शिक्षक र नगरपालिका क्षेत्र भित्रको मतदान केन्द्रमा समान्यतया राजपत्रांकित द्वितीय श्रेणी वा सो सरहको कर्मचारी वा उच्च माध्यमिक वा माध्यमिक शिक्षकलाई मतदान अधिकृत खटाउने व्यवस्था उल्लेख छ । त्यस्तै सोही दफाको खण्ड (ख) मा मतदान अधिकृत खटाउदा खण्ड (क) बमोजिम कर्मचारी वा शिक्षक खटाउन नसकिने भएमा सोभन्दा एक तहमुनिको कर्मचारी वा शिक्षकलाई मतदान अधिकृत खटाउने व्यवस्था छ । उपरोक्त बमोजिमको सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा सम्पर्क गर्नुपर्छ ।

– भारतीय नं. प्लेटको गाडीको प्रयोग गरेर प्रचारप्रसार गर्न पाइन्छ कि पाइँदैन ?
कुनै पनि उम्मेदवार वा दलले निर्वाचन प्रचारप्रसारमा कुनै पनि विदेशी नं. प्लेटको सवारी साधन प्रयोग गर्न पाइँदैन ।

– निर्वाचन खर्चको सीमा कहाँबाट हेर्न पाइन्छ ?
निर्वाचन आयोगको वेवसाइटमा अर्थात https://election.gov.np/np/page/expense-limit लिंकमार्फत हेर्न सकिन्छ ।

– निर्वाचनको समयमा विद्यालयमा विभिन्न राजनीतिक दलका भातृ संघ संगठन खोल्न पाइने हो कि होइन ?
पाइँदैन ।
– स्वास्थ्य स्वयंसेविकाले मतदाता शिक्षा सञ्चालन गरेवापत के कति सुविधा पाउने हो ? सबै पालिकाबाट पाउने सुविधामा एकरुपता पाइन्छ कि पाइँदैन ?
सम्बन्धित स्थानीय तहबाट नै सेवा सुविधा पाउन सक्छन् । यसरी खटिने स्वयंसेवकलाई निर्वाचन आयोगले प्रचारप्रसार सामाग्री उपलब्ध गराउँछ ।

– समानुपातिकतर्फका उम्मेदवारले मतदानका दिन सवारी पास कहाँबाट लिन पाइन्छ ?
समानुपातिकतर्फका उम्मेदवारले सवारी पास पाउने व्यवस्था छैन ।

– निर्वाचनको दिन सार्वजनिक सवारी साधन चल्छ कि चल्दैन ?
सामान्यत अनुमति नलिइ सवारी साधन चलाउन पाइँदैन । यस सम्बन्धमा आयोगले निर्णय गरेबमोजिम हुनेछ ।

– भूमि आयोगले एलानी जग्गा नापजाँच गर्दा आचारसंहिता विपरीत हुन्छ कि हुंँदैन ?
आयोगको स्वीकृत वार्षिक कार्यक्रम बमोजिम नापजाँच गर्न पाइन्छ । तर निर्वाचनको मिति घोषणा भइसके पश्चात् जग्गा वितरण प्रयोजनार्थ वा मतदातालाई प्रभाव पार्ने तवरले उक्त कार्य गरेमा आचारसंहिता विपरीत हुन्छ । त्यसो गर्न पाइँदैन ।

– नेपाली सेना निर्वाचनको सुरक्षाको बाहिरी घेरामा रहनुहुन्छ । उहाँहरूले समानुपातिकतर्फ मतदान गर्न पाउने कि नपाउने ?
निर्वाचनको काममा खटिनुभएका संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षाकर्मीको अस्थायी मतदाता नामावलीमा नाम दर्ता भइ सो नामावली प्रमाणित भइ आएमा उनीहरू प्रतिनिधि सभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ मात्र मतदान गर्न पाउनुहुन्छ तर निर्वाचनमा खटिने शिक्षकहरूका लागि उक्त व्यवस्था छैन ।

– समानुपातिक तर्फका उम्मेदवारलाई कसले परिचयपत्र दिन्छ ?
समानुपातिकतर्फका उम्मेदवार राजनीतिक दल हुने भएकाले हालसम्म उम्मेदवारलाई परिचयपत्र दिने व्यवस्था छैन ।

– निर्वाचन र्‍यालीमा कतिवटा सवारी साधन प्रयोग गर्न पाइन्छ ?
निर्वाचन आचारसंहिता २०७९ अनुसार निर्वाचन प्रचारप्रसारको क्रममा जुलस वा आमसभा गर्दा चारपाङ्ग्रे गाडी, मोटरसाइकल, साइकल, बयलगाडा, रिक्सा, टाँगा, ठेलागाडालगायत सबै प्रकारका सवारी साधन प्रयोग गरी ¥याली आयोजना गर्न पाइँदैन ।

– दृष्टिविहीनले कसरी मतदान गर्ने ? निजले इच्छाएको व्यक्तिले पाउने हो ?

दृष्टिविहीन वा शारीरिक अशक्तता भएको वा अरु कुनै कारणले आफ्नो मत संकेत गर्न नसक्ने भई मतदाताले आफ्नो साथमा आएको एकाघरको परिवारको सदस्यलाई मतदान कक्षमा लैजाने अनुमति मागेमा मतदान अधिकृतले प्रचलित कानून बमोजिम पूर्ण अशक्त वा अति अशक्त अपांगताको प्रमाणपत्र भएको वा कुनै दुर्घटनामा परी वा अन्य कारणले एक्लै मतदान कक्षमा गई आफँै मतदान गर्न असमर्थ व्यक्ति हो होइन यकिन गरी त्यस्तो व्यक्तिलाई मतदाताको साथमा मतदान कक्षमा प्रवेश गर्ने अनुमति दिने र आफू समेत निजहरूसँग गई आफ्नो रोहवरमा मतदाताले भने बमोजिमको निर्वाचन चिन्हमा मतसङ्केत गर्न लगाउन सक्नेछ ।
साथै, कुनै मतदाताले दृष्टिविहीन वा शारीरिक अशक्तता भएको वा अरु कुनै कारणवश आफैँ मतसंकेत गर्न नसक्ने भई मतसंकेत गर्ने काममा सहयोग पु¥याउन मतदान अधिकृतलाई अनुरोध गरेमा र मतदान अधिकृतलाई सो कुरा उपयुक्त लागेमा त्यस्तो मतदाताको मतपत्रमा निजको इच्छा अनुसार मत संकेत गर्ने काममा सहयोग गर्न सक्ने व्यवस्था छ ।

– निर्वाचनमा खटिने कर्मचारीको सूची कहाँबाट हेर्न सकिन्छ ?
सम्बन्धित निर्वाचनको अधिकृतको कार्यालयमा टाँसिएको सूचना वा सम्बन्धित जिल्ला निर्वाचन कार्यालयबाट लिन सकिन्छ ।

– ४ थरीका मतपत्रमा के कसरी मतदान गर्ने हो ? पुरै प्रक्रिया बताइदिनुहोस् न ।
मतदाताले सर्वप्रथम प्रतिनिधि सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको लागि रातो रङ निर्वाचन चिन्ह भएको मतपत्र पाउनुहुने छ । उक्त मतपत्र लिएर गोप्य कोठामा गई मतदान गरी १ नं. स्टिकर टाँसिएको मतपेटिकामा मतपत्र खसाल्नुपर्छ । दोस्रो चरणमा प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको कालो रङको निर्वाचन चिन्ह भएको मतपत्र लिइ गोप्य कोठमा भएर मतदान गरी २ नं. स्टिकर टाँसिएको मतपेटिकामा मतपत्र खसाल्नु पर्दछ । तेस्रो चरणमा प्रदेश सभाको पहिलो हुने निर्वाचन हुने निर्वाचन प्रणालीको लागि रातो रङको निर्वाचन चिन्ह भएको मतपत्र लिई मतदान गरी ३ नं. स्टिकर टाँसिएको मतपेटिकामा मत खसाल्ने र अन्त्यमा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको कालो रङको निर्वाचन चिन्ह भएको मतपत्रमा मतदान गरी मतपेटिका ४ नं. स्टिकर टाँसिएको मतपत्रमा मत खसाउनु पर्दछ ।

– उम्मेदवारले आफ्नो प्रतिनिधिमार्फत निर्वाचन प्रचारप्रसारका लागि खर्च गरेमा निज प्रतिनिधिको खाता नं. निर्वाचन कार्यालय वा निर्वाचन आयोगमा पहिले नै जानकारी गराउनु पर्ने हो ?
जानकारी गराउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्