Logo

 एमाले उपमहासचिव गुरुङ प्रतिनिधि सभा सदस्यमा निर्वाचित

१० मंसिर ०७९, काठमाडौं । लामो समयदेखि नेकपा (एमाले)को राजनीतिमा सक्रिय उपमहासचिव पृथ्वीसुब्बा गुरुङ प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । लमजुङको प्रतिनिधिसभा सदस्य निर्वाचनको गए राति सम्पन्न मत परिणामअनुसार माओवादी केन्द्रका उम्मेदवार देवप्रसाद गुरुङलाई तीन हजार एक सय ८८ मतान्तरले पछि पार्दै गुरुङ विजयी भएका हुन् ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख नारायणप्रसाद सापकोटाका अनुसार विजयी गुरुङले ३४ हजार नौ सय ६९ मत प्राप्त गरेका छन् भने पराजित माओवादी केन्द्रका गुरुङले ३१ हजार सात सय ८१ मत प्राप्त गरेका छन् । कूल एक लाख ३३ हजार पाँच सय ५९ मतदाता रहेकामा ८० हजार एक सय ९२ मत खसेको थियो । विसं २०७४ मा एमाले र नेकपा (माओावदी केन्द्र)बीच तालमेल थियो । उक्त निर्वाचनमा पृथ्वीसुब्बा लमजुङ प्रदेशसभा (२) बाट उम्मेदवार तथा देवप्रसाद प्रतिनिधिसभा सदस्यका उम्मेदवार बन्दै विजयी भएका थिए । पृथ्वीसुब्बा गण्डकी प्रदेशको मुख्यमन्त्री बन्न सफल भए भने, देवप्रसाद सांसद बने ।
विसं २०७४ को निर्वाचनमा एक अर्काको सहयोगी बनेर दुवैजना कांग्रेसविरुद्ध उभिएका थिए । यस पटक भने, माओवादी केन्द्र कांग्रेसलगायत गठबन्धनसँग मिलेर एमालेविरुद्ध नै प्रतिस्पर्धामा उत्रिएको थियो । जिल्लामा यी दुई कम्युनिष्ट नेताबीच पहिलो पटक प्रतिस्पर्धा भएको हो । पृथ्वीसुब्बा २०६४ सालमा लमजुङ क्षेत्र नं २ बाट कांग्रेसका दिलबहादुर घर्तीलाई छ हजार बढी मतान्तरले हराउँदै विजयी भएका थिए ।

तत्कालीन गिलुङ गाविस ८, टक्सार हाल क्व्होलासोथर गाउँपालिका ९ गिलुङमा २०१४ सालमा गङ्गाप्रसाद र चिनी गुरुङको सन्तानका रुपमा पृथ्वीसुब्बा जन्मिएका हुन् । उनको राजनीतिक यात्रा २०२७ सालमा इशानेश्वर प्रमोद हाईस्कुल, भोर्लेटारबाट सुरु भएको हो । उनी त्यो बेला अनेरास्ववियुका तर्फबाट स्ववियु सचिवमा निवार्चित भएका थिए ।
विज्ञान विषयमा स्नातक तह उत्तिर्ण गरेका गुरुङ सुरुमा शिक्षण पेसामा आबद्ध थिए । विसं २०४० मा उनी नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको जिल्ला अध्यक्षमा निवार्चित भए । एमालेको दसँै महाधिवेशनबाट गुरुङ उपमहासचिवमा निर्वाचित भएका हुन् । त्यसअघि उनी पार्टीको सचिव थिए ।
गुरुङ २०४८, २०५१, २०५६ र २०७० सालमा सम्पन्न निर्वाचनमा पराजित भएका थिए । विसं २०६४ मा गुरुङ नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भए । गुरुङ २०४३ सालमा पञ्चायती व्यवस्थामा तत्कालीन नेकपा मालेका तर्फबाट जनपक्षीय उम्मेदवारका रूपमा निर्वाचनमा होमिएका थिए । उनी कारागारबाटै उम्मेदवार बनेका थिए । तर उनी पराजित भए । गुरुङले आदिवासी जनजाति महासङ्घको नेतृत्वसमेत गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्