Logo

विवाहपञ्चमीका जन्ती जनकपुर प्रस्थान

फाइल तस्विरः जनकपुरधाममा मनाउँदै गरिएको रामजानकी विवाहपञ्चमी महोत्सवमा भगवान राम, सिता र लक्ष्मणको प्रतिकात्मक रुपमा सजाइएका बालबालिका । तस्बीरः अजयकुमार साह/रासस

१२ मंसिर ०७९, जनकपुर । मिथिलाको सांस्कृतिक पर्व विवाहपञ्चमी महोत्सवका जन्ती आज बिहान महोत्तरीको मटिहानीबाट जलेश्वर हुँदै जनकपुरतर्फ प्रस्थान गरेका छन् ।
आइतबार मटिहानी पुगेका भारतीय साधुसन्त एकरात श्रीलक्ष्मीनारायण मठ मटिहानीको आतिथ्यता ग्रहण गर्दै आज बिहान जलेश्वर हुँदै जनकपुरतर्फ प्रस्थान गरेका हुन् । रामजानकी विवाहमहोत्सवमा अयोध्याबाट जन्ती भई साधुसन्त जनकपुर आउने प्राचीन परम्परा हो ।
महोत्सवमा अयोध्याका अतिरिक्त भारतका विभिन्न ठाउँबाट साधुसन्त आउने गरेका छन् । केही दशक पहिलेसम्म मङ्सिर शुक्लपक्ष लाग्नासाथै प्रतिपदाकै दिन भारतीय साधुसन्त मटिहानी हुँदै नेपाल प्रवेश गर्थे । यो तालिकामा पहिलो रात मटिहानी, दोश्रो रात जलेश्वर , तेश्रो रात महोत्तरीकै सहोडवा र चौथो दिन जनकपुर पुग्ने चलन थियो । यसक्रममा दिवा र राीत्र भोजनका स्थल निर्धारित भएबमोजिम स्थानीयले अहोभावले स्वागत गर्दै भोजन, विश्रामको चाँजो मिलाउने परम्परा रहेको पिपरा गाउँपालिकाको बनौली गाउँका ६५ वर्षीय वैद्यनाथ चौधरी सम्झन्छन् ।
यो पुरानो परम्परा भने अब हराउँदै गएर केही साधुसन्त पञ्चमीको एक दिनपूर्व मटिहानी पुग्ने र महोत्सवको मुख्य दिन पञ्चमी तिथिमा जलेश्वर हुँदै जनकपुर जान थालेका छन् । मान्छेको व्यस्तता बढेर पुरानो पुस्ताको अनुशरण हुन छाडेको छ । मेला उत्सवको आकर्षण घट्दै गएर सिमित सङ्ख्याका साधुसन्त र सर्वसाधारण श्रद्धालु आउने गरेका यात्राको बाटो क्षेत्र (मटिहानी–जलेश्वर–पिपरा–जनकपुर) का बासिन्दा बताउँछन् । कतिपय भारतीय साधुसन्त त आज नै सीमा नाकाबाट नेपाल प्रवेश गर्दै सोझै जनकपुर पुग्दैछन् । पछिल्लो कालमा मेलाउत्सवको भीडभाडमा असुरक्षाभाव बढ्दै गएर पनि महोत्सवमा उपस्थिति पातलिदै गएको जलेश्वर १० सारीकी सामाजिक कार्यकर्ता प्रियङ्का ठाकुर बताउन्छन् ।

विगत दुई वर्ष (२०७८,२०७७) कोभिड–१९ महाव्याधि सन्त्रासले नेपाल–भारत सीमा नाकामा आवतजावत ठप्प हुँदा भारतीय साधुसन्त महोत्सवका लागि नेपाल आएनन् । यसपालि विवाहपञ्चमी महोत्सवकै बेला यहाँको आमनिर्वाचनको मतगणना कतिपय ठाउँमा जारी नै रहँदा राजनीति सरगर्मीले विवाहपञ्चमी पर्वको चासो कम देखिएको यताका सर्वसाधारणको भनाइ छ ।
जनकपुरधाममा सप्ताहव्यापी मनाइने रामजानकी महोत्सव त्रेता युगमा अयोध्या नरेश दशरथ पुत्र श्रीराम र मिथिला (विदेह) का राजा शिरध्वज जनककी पुत्री सीताको मङ्सिर शुक्ल पञ्चमी तिथिका दिन विवाह भएको सम्झनामा मनाउँदै आइएको हो । हिन्दू परम्परामा श्रीराम विष्णुका अवतार र मर्यादा पुरुष्वत्तम कहलिन्छन् भने सीता लक्ष्मीकी अवतार र आदर्शनारीका रुपमा पूज्य छन् । जनकपुरधाममा सम्पन्न गरिने महोत्सवको साप्ताहिक तालिकामा जनकपुर दर्शन, फुलबारीलीला, धनुष भङ्ग र स्वयंवर, तिलकोत्सव, मटकोर, विवाह र रामकलेवा विधि छन् । विवाहको भोलिपल्ट रामकलेवा विधिका दिन जन्ती भई आएका भारतीय साधुसन्तलाई मिष्टान्न भोजन गराई वस्त्राभूषण र दक्षिणा दिएर विदाइ गरिने चलन छ । यी सबै विधिका मुख्य आयोजक जानकी मन्दिर व्यवस्थापन हो ।
विवाह महोत्सवमा जानकी मन्दिरका महन्थ राजा जनकको र जनकपुरकै राम मन्दिरका महन्थ राजा दशरथको भूमिकामा हुन्छन् । समारोहमा मैथिल परम्पराअनुसार जन्ती र घरगाउँले तथा सम्धीसम्धीबीचको हाँस ख्यालठट्टा सहभागीका लागि मनोरञ्जक हुने गरेको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ (संस्कृत क्याम्पस) का साहित्य विषयका सहप्राध्यापक ध्रुव राय बताउन्न्छ ।
प्राचीन मिथिलाको विवाह पद्धति, चालचलन र रीतिथिति सम्झाउने यो सांस्कृतिक पर्वको शाख ओइल्याउन दिन नहुने पाका मैथिलको भनाइ छ । यसका लागि नयाँ पिढीका मैथिल युवाले अग्रसरता लिनुपर्ने महोत्तरीकै बलवा नगरपालिकाको धमौरा बस्तीका बासिन्दा मैथिल संस्कृति र परम्पराका जानकार ७० वर्षीय कामेश्वर झाको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्