Logo

थापाथलीका सुकुम्वासीमाथि बल प्रयोग गर्नु  उचित होइन : अध्यक्ष ओली

१३ मंसिर ०७९, काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले थापाथलीका सुकुम्वासीमाथि बल प्रयोग गर्नु उचित नभएको बताएका छन्  । मंगलबार च्यासलस्थित पार्टी निकट सांस्कृतिक संघद्वारा आयोजित बधाई कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले फुसका छाप्रा भत्काउन काठमाडौं महानगरपालिकाले डोजर प्रयोग गरेकोप्रति कटाक्ष गर्दै भूमि आयोगको कामबारे पिन प्रश्न उठाए । उनले नेपाल प्राकृतिक र भौगोलिक रूपमा समेत विविध रहेको बताउँदै संस्कृति समेत संसारकै उत्कृष्ट रहेको उल्लेख गरे ।

त्यस्तै ओलीले गठबन्धन सरकारले चुनावमा धाँधली गरेको आरोप लगाएका छन् । मंगलबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा उनले यस्ताे बताएका हुन् । एमालेका कार्यकर्तामाथि धडपकड र गोली प्रहार गरेर सरकारले निरंकुशता देखाएको उनको आरोप छ । सरकारले निर्वाचनका क्रममा प्रशासनको दुरुपयोग गरी चुनाव जित्न खाेजेको समेत उनले बताए । उनले बाजुरा दाेलखालगायतका जिल्लामा धाँधली भएकाे समेत बताए ।

ओलीलाई बधाई दिँदै कार्यकर्ताहरूले प्रधानमन्त्री बन्नाेस् भनी शुभेच्छासमेत प्रकट गरेका थिए । संसदीय  निर्वाचनकाे नतिजा हेर्दा कांग्रेस र एमालेबीच ९-१0 सिटकाे फरक पर्ने देखिएकाे छ । त्यही कारण एमाले पनि सरकार बनाउने गृहकार्यमा जुटेकाे छ ।

प्रतिक्रिया दिनुहोस्