Logo

मेलम्चीको पानी मंसिर २७ सम्म काठमाडौंमा आइपुग्ने

१४ मंसिर ०७९, काठमाडौं ।   खानेपानीमन्त्री उमाकान्त चौधरीले यही मंसिर २७ गतेसम्ममा मेलम्चीको पानी वितरण गरिने बताएका छन् । बुधबार मेलम्ची खानेपानी आयोजनाको कार्यप्रगती बुझ्न मुहानस्थल अम्बाथान पुग्नुभएका मन्त्री चौधरीले २७ गतेभित्र काठमाडौंमा पानी वितरण शुरु गरिने बताए ।

गत जेठ दोस्रो सातादेखि बन्द गरिएको मेलम्चीमा गएको सोमबारदेखि सुरुङमा पानी हाल्न थालिएको छ । पानी सुरुङमा हालेको करिब १० देखि १२  दिनपछि  काठमाडौं पुग्ने मेलम्ची खानेपानी आयोजनाका साइड डिभिजनल इञ्जिनीयर पदमबहादुर कुँवरले जानकारी दिए । मेलम्ची खानेपानीको हेडबक्स बाँधस्थल हेलम्बु पुगेर मन्त्री चौधरीले अब दिर्घकालीन रुपमै पानी पथान्तरणका लागि कार्ययोजना बनाइएको जानकारी दिए ।

उनले विभिन्न अध्ययन र प्रतिवेदनअनुसार सरकारले काम शुरु गर्ने बताए । सुरुङको १ नम्बर गेटको अवलोकन गर्दै मन्त्री चौधरीले समयमै ढोका बन्द गरेका कारण क्षति नभएको बताए । उनले थप क्षति नहोस् भनेर अपनाइएको सावधानीका कारण अहिले छिट्टै मेलम्चीको पानी पुनः सुरुङमा हाल्न सफल भएकामा खुसी पनि व्यक्त गरे । निरीक्षणका क्रममा खानेपानी सचिव मणिराम गेलालले योजनाअनुसार नै काम भइरहेकाले समयमै अर्थात् मंसिर २७ गतेभित्रै मेलम्चीको पानी वितरण गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताए ।

उनले माथिको जलाधार संरक्षण र बाढीपहिरो नियन्त्रणका लागि कार्ययोजना बनाएर स्थायी रुपमा नै समस्या समाधान गरिने जनाउँदै त्यसका लागि पनि काम शुरु भइरहेको बताए । अहिलेसम्म सुरुङ निर्माण र अन्य संरचना निर्माण गरेर रु ३४ अर्ब खर्च गरेको सरकारले अब करिब रु ३१ करोड खर्च गर्ने हो भने बाह्रैमहिना पानी लैजान सकिने सचिव गेलालले बताए ।

निरीक्षणका क्रममा आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले स्थानीयको समस्या समाधान गरेर पानी लैजाने विषयमा आयोजना सकारात्मक रहेको बताए । उनले हेलम्बु गाउँपालिकालगायत स्थानीय तहले राखेका माग र यहाँका समस्या समाधानका लागि आयोजनाले काम गरिरहेको जानकारी दिए । निर्देशक श्रेष्ठले बाढीले क्षति पुर्‍याएका संरचना पुनःनिर्माण, यहाँका सडक स्तरोन्नति लगायतका समस्या समधान गर्न स्थानीय प्रभावित र सरोकारवालासँग निरन्तर छलफल र परामर्श भइरहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्