Logo

चलचित्र ‘प्रसाद २’ को छायाङ्कन सुरु


२९ मंसिर ०७९, काठमाडौं । फिल्म ‘प्रसाद २’ को छायाङ्कन आजदेखि सुरु भएको छ । माछापुच्छ्रे गाउँपालिकामा फिल्मको मुहुर्त गर्दै छायाङ्कन सुरू गरिएको प्रस्तुतकर्ता सुवास थापाले जानकारी दिएका छन् ।
“डेढ महिनाको सेड्युल तय गरेर छायाङ्कन सुरू गरेका हौँ । फिल्मलाई ग्रामीण कथामा निर्माण गर्दैछौँ भने हिमाली सुन्दरता समेत कैद गर्दैछौँ”, प्रस्तुतकर्ता थापाले भने । फिल्ममा मुहुर्तको दृश्य मुख्य कलाकार विपिन कार्की र केकी अधिकारीले दिइन् । उनी दुई फिल्ममा श्रीमान् तथा श्रीमतीको भूमिकामा छिन् ।
एस.जी. फिल्म्स र सुलभ थापा प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको फिल्मलाई सुदर्शन बस्नेतले निर्माण गर्दै छन् । निर्देशक थापाको निर्देशनमा तयार हुने फिल्ममा अर्पण थापा, महेश त्रिपाठी, कमलमणि नेपाल, प्रकाश घिमिरे, विशाल पहाडी, निमा पाण्डेलगायतका कलाकारको अभिनय रहनेछ ।
यसमा राजेश श्रेष्ठको छायाङ्कन, उत्तम न्यौपानेको ध्वनि, राजनराज सिवाकोटीको सङ्गीत रहनेछ । फिल्मलाई पत्रकार सुशील पौडेलले लेखेका हुन् । ‘प्रसाद’ हिट भएपछि यसको सिक्वेलका रूपमा ‘प्रसाद २’ को निर्माण हुन लागेको हो । लेखक पौडेलले फिल्मको कथा अभिनेता कार्की र अभिनेत्री अधिकारीमा केन्द्रीत रहने बताए । “दुईको प्रेम र त्यसले निम्त्याउने सङ्घर्षलाई फिल्ममा देखाइनेछ”, लेखक पौडेलले भने ।

प्रतिक्रिया दिनुहोस्