Logo

कोरोनाको जोखिम फरक स्वरुपमा देखिन सक्छ सावधानी अपनाउनूः स्वास्थ्य मन्त्रालय

७ पुस ०७९, काठमाडौं ।   सरकारले कोरोना भाइरसको जोखिम फरक स्वरुपमा देखिन सक्ने भन्दै सावधानी अपनाउन आगह गरेको छ।  केही देशहरुमा संक्रमणका नयाँ भेरियन्ट पुष्टि हुँदै गरेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रवेश बिन्दुका हेल्थ डेस्कहरुले तथा स्वास्थ संस्थाहरुले आवश्यक तयारी थाल्न पनि आग्रह गरेको छ।

‘विश्वव्यापी रुपमा हेर्दा केहि देशहरुमा संक्रमणका नयाँ स्वरुपमा जोखिम बढीरहेका छन्। विशेषतः हाम्रै छिमेकी देशहरुमा संक्रमणको पछिल्ला अवस्थाबाट हामी सुसूचित हुँदै सजग हुन आवश्यक छ।’,मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नयाँ भेरियन्ट फैलिदै गरेको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निगरानी बढाउने एवं सम्बन्धित देशहरुसँग समन्वय गर्ने कार्य गरिरहेको छ।

मन्त्रालयका अनुसार ओमिक्रोन भेरियन्ट बीए–२, बीए २.७५, बीए २.७५.१, बीए २.७५.२, बीए २.७५.३, बीए २.७५.५, बीए २.७५.६, बीए.२.७६, बीए.५.२, बीए.५.२.१,बी.एम.१, बिएम १.१.३, बिएन १.३,बी क्यूब १.१,बिक्यूव १.२, बि.वाइ.१ पुष्टि भएका छन्।

तर पछिल्लो समय छिमेकी मुलुकहरुमा पुष्टि भएको बि.एफ. ७  भने हालसम्म नेपालमा पुष्टि नभएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले  मास्कको प्रयोग गर्न, एक अर्कामा भौतिक रुपमा दुरी कायम राख्न र  हातको सरसफाईमा विशेष ध्यान दिन अनुरोध गरेको छ। साथै सम्पूर्ण प्रवेश बिन्दुका हेल्थ डेस्कहरुले तथा स्वास्थ संस्थाहरुले आवश्यक स्क्रीनिंङ, निगरानी, सतर्कता एवंम आवश्यक तयारी अवस्थामा रहन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्