Logo

परराष्ट्रकी अधिकृतको ज्यान लिने मोटरसाइकल चालक जेल चलान

७ पुस ०७९, काठमाडौं ।  परराष्ट्र मन्त्रालयकी अधिकृत आस्था सुब्बालाई ठक्कर दिएर ज्यान लिने मोटरसाइकल चालकलाई जेल सजाय भएको छ। गएको कात्तिक १८ गते साँझ
सिंहदरबार गेटमै मोटरसाइकलले ठक्कर दिँदा परराष्ट्रकी अधिकृत सुब्बाको ज्यान भएको थियो ।
अनामनगरस्थित सिंहदरबार पूर्वी गेटअगाडि बाटो काट्दै गरेकी ३२ वर्षीया सुब्बालाई ठक्कर दिने मोटरसाइकल चालकलाई जिल्ला अदालत काठमाडौंले बिहीबार जेल सजाय सुनाएको हो।

आस्थाको ज्यान लिने प्रदेश ३–०२–००८ प ३६१७ नम्बरको मोटरसाइकल चालक तनहुँको दमौली नगरपालिका २४ वर्षीय मिलन राना अदालतको आदेशसँगै पुर्पक्षका लागि कारागार चलान भएका हुन्।

दुर्घटनाका क्रममा मोटरसाइकलका चालक राना पनि घाइते थिए। उनलाई उपचारपछि सिंहदरबार बृत्तको हिरासतमा राखेर अनुसन्धान गरिएको थियो।

त्यसपछि अनुसन्धान सकेर प्रहरीले सवारी ज्यानको कसुरमा मुद्दा चलाउनुपर्ने रायसहित सरकारी वकिल कार्यालयमा अनुसन्धान फाइल बुझाएको थियो। रानाविरुद्ध यातायात व्यवस्था ऐन २०४९ को दफा १६१ अन्तर्गत (२) अन्तर्गत रानाविरुद्ध मुद्दा कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो। प्रहरीले रानाविरुद्ध १० वर्षसम्म कैद सजाय माग दाबी गरेको थियो।

उक्त कानुनमा लापरबाहीपूर्वक सवारी चलाउँदा कसैको ज्यान गएमा तीनदेखि १० वर्षसम्म कैद सजाय हुने भनिएको छ।

यो मुद्दामा जिल्ला अदालतले तत्काल प्राप्त प्रमाण अनुसार राना निर्दोष ठहर्ने अवस्था नरहेको निचोडसहित जेल पठाउने निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस्