Logo

प्रधानमन्त्री दाहाल शपथ लिन दौरा सुरुवालमा राष्ट्रपति निवास पुगेपछि…


११ पुस ०७९, काठमाडौँ । नाटकीय रूपमा राजनीतिमा उलटफेर भएपछि आइतबार अपराह्न नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको ४४औँ प्रधानमन्त्रीमा नियुक्त भए ।
नवनियुक्त प्रधानमन्त्री दाहालको आज अपराह्न ४ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम तय गरिएको थियो ।
यसअघि दुईपटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका माओवादी अध्यक्ष दाहाललाई यसपटक तेस्रोपटक प्रधानमन्त्री हुने राजनीतिक माहोल खडा भयो । पद तथा गोपनीयताको शपथ समारोहमा नवनियुक्त प्रधानमन्त्रीले नेपाली राष्ट्रिय पोसाक दौरा सुरुवाल लगाएर सहभागी हुने चर्चा आज बिहानदेखि चलेको थियो । प्रधानमन्त्री दाहालको सचिवालयले नै सो विषयलाई बाहिर प्रचारमा ल्याएको थियो ।
बिहानदेखिको चर्चालाई सही साबित गर्दै प्रधानमन्त्री दाहाल आज तेस्रोपटक पद तथा गोपनीयताको शपथका लागि राष्ट्रपति कार्यालय शीतल निवास पुगे ।

यसअघि दुईपटक प्रधानमन्त्री भए पनि उनले दौरा सुरुवाल लगाएका थिएनन् । समान्यतया, कोट पाइन्ट लगाउन रुचाउने अध्यक्ष दाहालले नयाँ परिस्थितिमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्दै गर्दा लगाएको पोसाकको पनि राम्रै चर्चा परिचर्चा भएको छ ।
नेपाल बहुसांस्कृतिक एवं बहुभाषिक विविधतासहितको देश हो । हरेक जातजातिका आ–आफ्नै वेशभूषा र पहिरन रहेको छ । त्यसले आ–आफ्नो विविधतासहितको परिचय दिएको छ ।
प्रधानमन्त्री दाहालले पनि यसअघिका प्रधामनन्त्रीले जस्तै दौरा सुरुवालमा पद तथा गोपनीयताको शपथ लिएर नयाँपनको सुरुआत गरेका छन् ।
यसअघि सामान्यतया सार्वजनिक समारोहमा दौरा सुरुवाल नलगाएका प्रधानमन्त्रीले यसपटक पोसाक प्रयोगमा पनि नयाँपन दिएका छन् । प्रधानमन्त्रीले मात्रै नभई उपप्रधानमन्त्रीत्रयले पनि पद तथा गोपनीयताको शपथ लिँदा सोही पोसाक लगाएका थिए ।
दौरा सुरुवाल नेपाल र भारतको सिक्किम, दार्जिलिङ आदि क्षेत्रमा प्रख्यात र प्रचलित पोसाकका रूपमा रहेको छ । दौरा लामो बाहुला भएको र अगाडि छातीमा दुई फेर गरी दुवैतिर बाँध्न मिल्ने कुमदेखि घुँडासम्मको हुन्छ । सदियौँदेखि पहाडी भेगमा बढी प्रयोग हुँदै आएको पोसाक । त्यसमाथि कोट र शिरमा ढाका वा भादगाउँले टोपी पनि लगाउने प्रचलन छ ।

विसं १६८० को दशकमा सिद्धिनरसिंह मल्लले एउटा रेखाचित्रमा तुना बाँधेको पोसाक पहिरेको देखिन्छ । कैयौँ मल्लकालीन मूर्तिमा पनि यो पोसाक देखिन्छ । ऋग्वेद र त्यसपछिको अथर्ववेदमा पोसाकबोधकद्रापी शब्द उल्लेख छ । यसलाई भाषाका जानकारहरूले ‘लबेदासरहको’ भन्ने अर्थमा व्याख्या गरेका छन् ।
सोही द्रापीबाट दौरा भएको मानिन्छ । यो दायाँबायाँ कल्ली गाँसेर घुमाउरो फेर पारिएको, दायाँ र बायाँका तलमाथि चार ठाउँ तुना बाँध्ने गरी व्यवस्था मिलाइएको हुन्छ । दोबरी पारेर वा कठालो र फेरका भित्रपट्टि छेउमा सेप्टी लगाएर त्यसलाई सिइएको हुन्छ । यसमा आठवटा तुना हुन्छन् । ती तुना चार ठाउँमा बाँधिन्छ ।
हालै मात्र नेकपा (एमाले)का तर्फबाट प्रतिनिधिसभा सदस्यलाई पनि पद तथा गोपनीयताको शपथ ग्रहण गर्दा दौरा सुरुवाल नै लगाउन भनिएको थियो ।
काठमाडौँको जयबागेश्वरीमा दौरा सुरुवालको पसल चलाउँदै आएका केशव भट्टराई राज्यका तर्फबाट नै राष्ट्रिय पोसाकको प्रवद्र्धनका लागि थप अभियान चलाउनुपर्ने बताउन्छ ।

उनका अनुसार चाडबाडको समय, दसैँ, तिहार र विवाह व्रतबन्धको समयमा बढी चासो र कारोबार हुने दौरा सुरुवालप्रति नेताहरूको लगाव बढ्दै जानुलाई सकारात्मकरूपमा नै लिनुपर्छ ।
राष्ट्रिय पोसाकको प्रवद्र्धनका लागि नेपाली सबैको सार्थक पहल हुनुपर्ने भट्टराईको भनाइ छ । लगाउन सजिलो तथा जुनसुकै मौसममा पनि प्रयोग गर्न सकिने भएकाले दौरा सुरुवालको आफ्नै महत्त्व र विशेषता छ ।

 

प्रतिक्रिया दिनुहोस्