Logo

बिजुली भारत निर्यातका लागि अनुमति

१२ पुस ०७९, काठमाडौं । भारतले थप दुई जलविद्युत् आयोजनाको विद्युत् खरिद गर्ने भएको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणको सहमतिअनुसार अब निजी क्षेत्रमा थप दुई आयोजनाको बिजुली भारत निकासी हुने भएको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार आज मात्रै ती आयोजनाको बिजुली निकासीका लागि अनुमति प्राप्त भएको हो । ती आयोजनाको बिजुली समेत इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री हुनेछ । पछिल्लो विवरण अनुसार काबेली बी एक र तल्लो मोदी जलविद्युत् आयोजनाको बिजुली अब निकासी हुनेछ । तत्काल भने मुलुकभित्रै नै ती आयोजनाको बिजुली खपत हुने छ ।
आगामी जेठदेखि मात्रै ती आयोजनाको बिजुली भारत निर्यात हुनेछ । उनका अनुसार काबेली बी एक २४ दशमलव २५ मेगावाट र तल्लो मोदी १९ दशमलव चार मेगावाट क्षमताको हो । यी आयोजनाको समेत अब कूल चार सय ५२ दशमलव छ मेगावाट बराबरको बिजुली भारत निकासी हुनेछ ।
प्राधिकरणले यही पुस ३ गतेसम्म रु ११ अर्ब १६ करोड ३० लाखको विद्युत् भारततर्फ निर्यात भएको छ । देशभित्र खपत गरी अतिरिक्त भएको एक अर्ब ३५ करोड ७७ लाख ५७ हजार युनिट विद्युत् नेपाल प्राधिकरणले निर्यात गरेको थियो ।

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् गत जेठ १९ बाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु) मा हुने भएकाले यस अवधिमा विद्युत् बिक्रीबाट छ अर्ब ९७ करोड ६९ लाख भारु नेपाल भित्रिएको छ ।
सुरुमा दुईवटा जलविद्युत् केन्द्रबाट उत्पादित ३९ मेगावाट विद्युत्लाई स्रोत मानी दैनिकरुपमा आइएक्समा बिक्री सुरु गरिएको थियो । त्यसपछि गत जेठ २७ देखि छ वटा जलविद्युत केन्द्रबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा तीन सय ६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री गरिएको थियो ।
प्राधिकरणले गत कात्तिक १८ र ३० गतेदेखि थप दुई जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् निर्यात गर्न स्वीकृति पाएको थियो । योसँगै आठ जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत्लाई स्रोतमानी भारततर्फ निर्यात हुने विद्युत्को स्वीकृति क्षमता चार सय आठ मेगावाट बराबर पुगेको थियो । आज प्राप्त भएको अनुमति थप हो ।
प्राधिकरणले गत आर्थिक वर्ष २०७८÷७९को जेठ तथा असारमा २९ करोड ९१ लाख युनिट विद्युत् निर्यात गरी रु दुई अर्ब ८३ करोड ८८ लाख आम्दानी गरेको छ । चालु आव २०७९÷८० को तीन पुससम्ममा एक अर्ब पाँच करोड ८६ लाख ३४ हजार युनिट विद्युत् निर्यात गरी रु आठ अर्ब ३२ करोड ४२ लाख ४० हजार बराबरको रकम आर्जन गरिएको छ ।

आइएक्समा विद्युत् खरिदबिक्रीका लागि २४ घण्टालाई १५÷१५ मिनेटको ९६ ब्लकमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युत्को कारोबार हुन्छ । त्यसैले हरेक ब्लकको मूल्य फरक–फरक हुने गरेको छ । प्राधिकरणले तीन पुससम्म निर्यात गरेको विद्युत्को औसत दर प्रतियुनिट आठ रुपैयाँ २२ पैसा छ ।

 

प्रतिक्रिया दिनुहोस्