भ्रष्टाचार नियन्त्रण गर्न सरकार गम्भीर : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं २४ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूतिका निम्ति सरकारको प्रभावकारी भूमिकाका साथै रााष्ट्रिय संस्कृति र जागरण जरूरी रहेको बताएका छन् ।
सिंहदरबारमा आज बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्तहरूसँगको छलफलमा उनले आफ्नो तेस्रो कार्यकाल सामाजिक न्याय, सुशासन र समृद्धिमा नै केन्द्रित हुने बताएका हुन् ।
भ्रष्टाचार निवारण एउटा मात्र निकायले गर्न नसक्ने भन्दै प्रधानमन्त्री दाहालले भ्रष्टाचार निवारणमा आफू गम्भीर रहेको बताए । आयोगका लागि चाहिने सबै सहयोग गर्न सरकार तयार रहेको पनि उनले आयोग पदाधिकारीलाई बताए । ऐन संशोधन, क्षमता अभिवृद्धि, संरचनागत सुधार लगायतका काममा सरकारले प्रभावकारी भूमिका खेल्ने उनको भनाइ छ ।
राजनीतिक नेतृत्वमा इच्छाशक्तिको कमि र सरकारको भूमिकाका कारण सही व्यवस्थापन गर्न नसकेको भन्दै प्रधानमन्त्री दाहालले यो पटक सही नेतृत्व र सही व्यवस्थापन हुने दाबी समेत गरे ।