इन्द्रेणी कम्प्लेक्समा बम राखेर फिरौती माग्ने व्यक्ति पक्राउ
काठमाडौं २६ पुस । काठमाडौंको इन्द्रेणी कम्प्लेक्समा ११ वर्ष पहिले बम राखेर फिरौती रकम माग्ने व्यक्ति पक्राउ परेका छन्।काठमाडौं प्रहरीले ललितपुरको गोदावरी नगरपालिका १० का ३३ वर्षीय महेश केसी (खत्री)लाई पक्राउ गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी भरतबहादुर बोहराले जानकारी दिए।
केसीसहितको टोलीले २०६८ वैशाख १३ गते बिजुलीबजारस्थित इन्द्रेणी कम्प्लेक्सका सञ्चालकलाई फोन मार्फत फिरौती रकम माग गरेको र सो रकम नदिएमा निजको घर र व्यापारिक भवन इन्द्रेणी कम्प्लेक्समा बिष्फोट गर्ने धम्की दिएका थिए।
फिरौती रकम नपाएपछि उनीहरुले इन्द्रेणी कम्प्लेक्सको तल्लो बेसमेन्ट पार्किङ्गमा बिष्फोटक पदार्थ राखेका थिए।
प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको नेपाल प्रहरीको टोलीले नेपाली सेनाको बम डिस्पोजल टोलीसँग समन्वय गरी बिष्फोटक पदार्थलाई डिस्पोज गरेको थियो। प्रहरी वृत्त नयाँ बानेश्वरबाट घटनाको सम्बन्धमा विष्फोटक पदार्थ ऐन अन्तरगत मुद्दा दर्ता गरी अनुसन्धारत गरेको थियो।
फरार व्यक्तिको खोजतलासको क्रममा केसीलाई सोमबार साँझ पक्राउ गरेको बोहराले बताए। महेश केसीविरुद्ध विष्फोटक पदार्थ ऐन अन्तरगतको कसूरमा काठमाण्डौ जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी बानेश्वर बृत्तले अनुसन्धान थालेको छ।